Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

वडाले खुलायो भैंसी दुहुने जागिर

उद्‌घोष संवाददाता
१ साउन २०८२, बिहिवार

एआईको सहयोगमा निर्मित तस्वीर ।

विराटनगर । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ७ नम्बर वडा कार्यालयले भैंसी दुहुने, घाँस काट्ने तथा पशु स्याहारका लागि जागिर दिने भएको छ । 

वडावासी किसानलाई आत्मनिर्भर बनाउन भैंसीपालन गर्ने योजना अघि सारेको वडाले सोही कार्यक्रमका लागि सार्वजनिक सूचना जारी गरेर कर्मचारी माग गरेको हो । 

बुधबार जारी सूचनामा वडा कार्यालयले ‘मानेभन्ज्याङ गाउँपालिका वडा नं ७, हर्कपुरमा वडा कार्यालयले सञ्चालन गरेको भैंसीपालन कार्यक्रमको लागि  कर्मचारी आवश्यक भएकाले योग्यता पुगेका इच्छुक व्यक्तिलाई तीन दिनभित्र सम्पर्कमा आउन’ भनेको छ ।

वडाले १८ वर्ष पूरा भई ५५ वर्ष ननाघेको, साधारण लेखपढ गर्न सक्ने,  इमान्दार, परिश्रमी, समयपालक र जिम्मेवारी लिन सक्ने, दूध दुहुन जान्ने घाँस काटन जान्ने पशु स्याहार सम्बन्धी जानकार हुनुपर्ने, श्रीमान–श्रीमती भए दुवैलाई थप प्राथमिकता दिइने लगायतका योग्यता तोकेको छ । 

मासिक तलव आपसी सम्झौता बमोजिम हुने जनाएको वडाले जागिरका लागि आउनेलाई आवासको सुविधा हुने बताएको छ । 

‘हामीले यसपटक १८ वटा भैंसी अँट्ने गोठ बनाएका छौं’ वडाध्यक्ष विष्णुप्रसाद गौतमले उद्घोषसँग भने ‘पाँच लाख बजेट छुट्याएका थियौं । गोठ बनाएर रहेको पैसाले तीन वटा भैंसी किनेका छौं । नयाँ आर्थिक वर्षदेखि कार्यक्रम सुरु हुन्छ । आउँदो वर्ष थप भैंसी किन्छौं ।’

उनका अनुसार स्थानीयवासीलाई स्वरोजगार बनाउन यो कार्यक्रम अघि सारिएको हो ।

‘भैंसी वडाले किनिदिन्छ फार्म सञ्चालनका लागि वडावासी किसानले आफै समिति बनाएर काम गर्नुहुनेछ’ उनले भने ‘यो अभियानमा वडाभरिका किसान समेट्ने योजना छ ।’ वडामा २२ सय हाराहारी जनसंख्या छ ।

View : 533

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved