Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

इटहरीमा माओवादीले दियो आन्दोलनको चेतावनी

उद्‌घोष संवाददाता
४ साउन २०८२, आइतवार

सुनसरी । इटहरी उपमहानगरपालिकामा बजेट शून्यता भएकोप्रति आपत्ति जनाउँदै नेकपा माओवादी केन्द्रले आन्दोलनको चेतावनी दिएको छ ।

इटहरी उपमहानगरमा नेकपा एमाले र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले एकले अर्कोलाई दोष देखाउँदै समस्याबाट पन्छिन खोजेको भन्दै माओवादीले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो ।

इटहरी उपमहानगरले आर्थिक वर्ष २०८२–८३ का लागि बजेट ल्याएपनि पारित गर्न नसकेपछि बजेट शून्यताको अवस्था आएको हो । 

माओवादी केन्द्र इटहरीले शनिबार विज्ञप्ति जारी गर्दै  आर्थिक वर्ष २०८१–८२ को अन्त्यसम्म पनि आर्थिक वर्ष २०८०–८१ मा सम्पन्न उपमहानगरबाट सञ्चालित आयोजनाहरूको भुक्तानी गर्न इटहरी उपमहानगरपालिका कार्यालय असक्षम भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

माओवादीले इटहरीका नगरप्रमुख पौडेलले पत्रकार एवम् सञ्चारकर्मीमाथि लगाइएका आधारहीन आरोप तथा लाञ्छनाको पनि विरोध गरेको छ । 

विज्ञप्तिमा भनिएको छ– ‘हाम्रो पार्टी संविधानले नै सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको सुरक्षाप्रति प्रतिबद्ध रहेको कुरा जानकारी गराउँदछौं ।’

इटहरी उपमहानगरमा भएका बेथिति विभिन्न सञ्चार माध्यममा आएपछि नगरप्रमुख पौडेलले दानापानी नझरेपछि पत्रकारले समाचार प्रकाशित तथा प्रकाशन गर्ने गरेको आरोप लगाएका थिए ।

माओवादीले उपमहानगरमा बढ्दो बेरूजुप्रति समेत आपत्ति जनाउँदै चिन्ता व्यक्त गरेको छ ।

महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभरका उपमहानगर मध्ये सबैभन्दा बढी बेरूजु इटहरीको रहेको छ ।

View : 568

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved