विराटनगर । विराटनगर महानगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै ० देखि ५९ महिनासम्मका ११ हजार ६३० जना बालबालिकालाई पूर्ण खोपको पहुचमा ल्याएको छ ।
बाल स्वास्थ्य संरक्षण र रोग नियन्त्रणलाई प्राथमिकतामा राख्दै महानगरले सञ्चालन गरेको अभियानले सबै वडामा खोप सुनिश्चितताको लक्ष्य हासिल गरेको हो ।
महानगरपालिकाका अनुसार पूर्ण खोप प्राप्त गर्ने बालबालिकामध्ये ०–११ महिनाका २ हजार १३९ जना, १२–१५ महिनाका ९७७ जना, १६–२३ महिनाका १ हजार ५४८ जना तथा २४–५९ महिनाका ६ हजार ९६६ जना रहेका छन् ।
यस उपलब्धिसंगै विराटनगरले बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने रोगविरूद्ध सुरक्षित बनाउने अभियानलाई थप संस्थागत र दिगो बनाएको जनाएको छ ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमअन्तर्गत आयोजित विशेष कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको उपस्थितिमा वडा नम्बर १ देखि १९ सम्मका सबै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी प्रमाणपत्र प्रदान गरिएको थियो। आवश्यक सबै सूचक पूरा गरी पूर्ण खोप सुनिश्चितता हासिल गरेका वडाहरूलाई सम्मानस्वरूप प्रमाणपत्र वितरण गरिएको महानगरले जनाएको छ ।
महानगरका वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कार्कीका अनुसार महानगरले नियमित खोप सेवाको पहुँच विस्तार, अभिभावकमा जनचेतना अभिवृद्धि तथा स्वास्थ्यकर्मीहरूको सक्रिय परिचालनमार्फत उल्लेखनीय सफलता हासिल गरेको हो ।
खोप संयोजक सुशील साहले विराटनगरमा खोप सेवाको गुणस्तर सुधार, तथ्यांक व्यवस्थापन र समुदायस्तरको सहभागिताले अभियान सफल भएको बताए ।
कार्यक्रममा सहभागी वडा अध्यक्षहरूले पूर्ण खोप सुनिश्चितता कायम राख्न वडा तहबाट नियमित अनुगमन, जनचेतनामूलक कार्यक्रम तथा खोप छुटेका बालबालिकाको पहिचानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
स्वास्थ्यकर्मीहरूका अनुसार पूर्ण खोप कार्यक्रमले बालबालिकालाई दादुरा, रूबेला, पोलियो, क्षयरोग, डिप्थेरिया, कालीखोकी, टिटानस लगायतका रोगबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले पूर्ण खोप सुनिश्चितताको उपलब्धिलाई स्वास्थ्य क्षेत्रको महत्वपूर्ण सफलता मान्दै आगामी वर्षहरूमा समेत नियमित खोप सेवाको पहुच विस्तार, समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि र खोप अभियानको दिगोपनामा विशेष जोड दिने बताए ।
View : 71
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved