आनन्दमोहन झाबाट ठगिएको गुनासो गर्दै विराटनगर-५ का श्यामदेव साह र मोरङको रंगेली-३ का मोहम्मद रफिद मियाँ पत्रकार सम्मेलनमा । (दायाँमा ठगीको आरोपी झा) । तस्वीर : उद्घोष
विराटनगर । मोरङ रंगेली नगरपालिका–३ आमतोलाका मोहम्मद रफिद मियाँले श्रीमतीको नाममा रहेको जग्गा लुम्बिनी विकास बैंकको हरैंचा शाखामा धितो राखेर १ करोड ५ लाख रुपैयाँ ऋण थिए । ऋण तिर्न समस्या पर्दै गएपछि उक्त जग्गा बिक्री गर्ने निर्णयमा पुगेका ५६ वर्षीय रफिदले २०८० जेठ ११ मा एक हप्ताभित्रै पास गर्ने शर्तमा आनन्दमोहन झालाई बेच्ने निर्णय गरे ।
महोत्तरीको बथनाहा घर भएर विराटनगर–६ मा बस्दै आएमा झा जग्गा व्यापारीका रुपमा चिनिन्थे । रफिकले जग्गा बिक्री गर्नुअघि बैंकको ऋण तिर्न विराटनगरकै ओमप्रसाद राठीमार्फत ८१ लाख रुपैयाँ बैना लिए ।
२ करोड ४० लाख रुपैयाँ मूल्यको जग्गा बिक्री गर्ने क्रममा रफिकले झामार्फत पवन झा, अशोक कोइराला, मुरारी स्वर्णकार, सञ्जीव श्रेष्ठ, इश्वर पोखरेल लगायतका व्यक्तिरूहरुको नामका बैंक चेकहरू पनि लिए ।
अर्कोतिर रफिकले श्रीमती विवी हविदा खातुनको नामको (साविक दर्वेशा–४ कित्ता नं ७६७, २०३२.१९ वर्ग मिटर) उक्त जग्गा बिक्रीका लागि झालाई नै २०८० जेठ १२ मा हक हस्तान्तरण तथा बिक्रीको अधिकारसहितको अधिकृत वारेसनामा गराइदिए ।
सोही वारेसनामामार्फत झाले ६ कठ्ठा जग्गा मध्ये अशोक कोइरालाको नाममा १ कठ्ठा ४ धुर, पवन झाको नाममा १ कठ्ठा ४ धुर, एक सहकारीको नाममा (नाम नखुलेको) १ कठ्ठा १२ धुर पास गरिदिए ।
‘विश्वासमा परेर म फँसे, अहिले जग्गा पनि पास भइसक्यो’ रफिकले भने, ‘तपाँई चेकहरू फिर्ता दिनुस्, सम्पूर्ण पैसा दिन्छु भनेपछि चेक राखेर के गर्नु भनेर चेक पनि फिर्ता दिइसकें, एकजना ठूलै मान्छेले मेरो रिस्क हो तपाई जग्गा पास गरिदिनुस् भने, उसले (झाले) पैसा नदिए मसँग आउनु, म दिन्छु भनेपछि जग्गा पास गरिदियौं, तर अहिलेसम्म पैसा पाएको छैन ।’
विराटनगर–५ का श्यामदेव साहबाट पनि झाले एउटा बैंकको कर्जा अर्को बैंकमा सार्नका लागि भनेर २०८० माघमा सापटीस्वरुप १ करोड १४ लाख रुपैयाँ बैंकमार्फत लिए । तर उक्त रकम अहिलेसम्म फिर्ता नपाएको साहले बताए । उनले पैसा माग्दा झाले परिचालन गरेका व्यक्तिहरूले आफूमाथि कुटपिट गरेको बताए ।
‘धेरै पटक दिन्छु भनेर भाखा राखे पनि अहिलेसम्म त्यो रकम फिर्ता भएको छैन, यसबीचमा तागेदा गर्ने क्रममा मैले १३ लाख ८६ हजारमात्रै प्राप्त गर्न सफल भएको छु’ साहले भने, ‘पैसा फिर्ता माग्दा कुटपिट गरे, कुटपिटमा संलग्न व्यक्तिहरूको नामसहित प्रहरीमा उजुरी गर्दा प्रहरीले पनि सहयोग गरेन ।’
२०८१ साउन १७ गते झाकै योजनामा विराटनगर–५ चाँदनी चोकस्थित पासा होटलमा बोलाएर सावन दास, विनोद रोय र जमिर मियाँले कुटपिट गर्दै आफ्नो एउटा आइफोनसहित दुईवटा मोबाइल लुटेको साहले बताए ।
‘भोलिपल्ट १८ गते जिल्ला प्रहरीमा अभद्र मुद्दा दर्ता गराएँ’ चामल मिल र फिटनेट सेन्टर सञ्चालन गर्दै आएका साहले भने, ‘तर प्रहरीमा धाउँदा धाउँदा पनि उनीहरूलाई पक्राउ गरिएन ।’
उनले आफू झाबाट ठगिएको थाहा पाएपछि खोज्दै जाँदा ४६ जना भन्दा बढी ठगिएको जानकारी दिए । उनले आफ्नो पैसा फिर्ता लिनका लागि कतैबाट पनि सम्भव नभएपछि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाकै कार्यकक्षमा झालाई बोलाएर २० दिनभित्र पैसा दिने शर्तसहितको कागज भएको जानकारी दिए । तर उक्त कागज वडा कार्यालयमा अहिलेसम्म प्रमाणित पनि नगरी झा फरार भएको बताए ।
‘मैले मेयर नागेश कोइरालालाई पनि गुहार्न पुगें, त्यसपछि उहाँको रोहबरमा २०८१ साउन २८ मा छलफल भयो, व्याजसहित एक महिनाभित्र १ करोड १८ लाख तिर्ने गरी झाले कागज गरिदिए, तर त्यसलाई वडा कार्यालयमा दर्ता गरी वैधानिकता दिएनन्’ साहले भने, ‘धेरै पटक दिन्छु भनेर भाखा राखिसकेको छ, तर अहिलेसम्म त्यो मेरो पैसा फिर्ता भएको छैन ।’
ठगिएकाहरूको लर्को
झाबाट ठगिनेमा रफिक र साहमात्रै छैनन् । विराटनगरमा चिनिएर बसेका दर्जनौं व्यक्तिहरू समेत झाबाट ठगिएका छन् । ठगिनेमा धेरै व्यक्ति मुस्मिल समुदायका छन् । केही कानुन व्यवसायीहरू पनि झाबाट ठगिएका छन् ।
तर उनीहरू अहिल्यै आफू सार्वजनिक हुन मान्दैनन् । केहीले अहिले पनि झाले परिचालन गरेका व्यक्तिहरूबाट धाकधम्की आइरहेको बताउँछन् ।
‘मेरो ३ करोड रुपैयाँ डुबाइदिएको छ’ ठगीमा परेका अर्का व्यक्तिले भने, ‘विराटनगरका केही कानुन व्यवसायीसमेत फसेका छन्, झाले कानुन व्यवसायीहरूलाई नै कानुन नलाग्ने गरी फसाइदिएको छ, अव सवैजना मिलेर उसलाई पक्राउ गर्ने र कारवाहीका लागि पहल सुरु गर्छौं ।’
View : 457
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved