Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

महिला राष्ट्रिय लिग खेल्ने कोशीको टोलीलाई बिदाई

उद्घोष सम्वाददाता
१२ भदौ २०८१, बुधवार

विराटनगर । भदौ १६ गते सुरु हुने महिला राष्ट्रिय लिग प्रतियोगितामा सहभागी हुने कोशी प्रदेशको महिला फुटबल टोलीलाई बुधबार विराटनगरबाट विदाई गरिएको छ । कोशी प्रदेश फुटबल संघको आयोजनामा कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले खेलकुद सामग्रीसहित खादा माला लगाएर खेलाडीहरुलाई बिदाई गरेका हुन् ।

टोलीलाई बिदाई गर्दै मुख्यमन्त्री कार्कीले राम्रो खेल प्रदर्शन गर्न आग्रह गरेका छन् । प्रतियोगिता जितेको खण्डमा जनही १ लाख रुपैयाँ रुपैयाँ पुरस्कार उपलब्ध गराउने समेत प्रतिवद्धता जनाएका छन् । 

साथै चिन्तारहित भएर खेल प्रस्तुत गर्न पनि मुख्यमन्त्री कार्कीले खेलाडीहरूलाई आग्रह गरेका हुन् । कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले खेल कौशलको माध्यमबाट कोशी प्रदेशको नाम उच्चका लागि कुनैपनि संकोच नराखी अघि बढ्न खेलाडीहरूलाई आग्रह गरे । उनले सरकारले खेलाडीहरूलाई निरन्तर सहयोग गर्दै जाने बताए । 

गत बैशाख ६ देखि १५ गते सम्म सम्पन्न राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा पहिलो भएर लिगमा सहभागी हुन हुन लागेको कोशी प्रदेशका २५ जना खेलाडी टोली, तीन जना प्रशिक्षक र २ जना अफिसियललाई बिदाई गरिएको हो । 

एन्फा कोशी प्रदेशका अध्यक्ष किशोर राईले खेलाडी र प्रशिक्षकलाई खेलका लागि आवश्यक पर्ने जर्सी, जुत्ता र झोला लगायत सामग्री समेत उपलब्ध गराइएको जानकारी दिए ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले खेलकुद विकास बोर्ड र प्रदेश सरकारले खेलाडीहरूलाई खेल क्षेत्रबाटै जीवन निर्वाह गर्न सक्ने माहोल निर्माण गर्न लागिपरेको बताए ।

राष्ट्रिय महिला लिग प्रतियोगितामा कोशीसहित कर्णाली र सुदूरपश्चिम प्रदेश, तीन विभागीय टोलीहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मी तथा सङ्कटा क्लब, चन्द्रपुर नगरपालिका, बागमती नगरपालिका र वालिङ क्लब गरी १० टोलीबीच प्रतिष्पर्धा हुने जनाइएको छ ।

View : 151

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved