Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

सर्पले टोकेकी बालिकाको विराटनगर सिटी हस्पिटलमा मृत्यु

अस्पतालले उपचारमा लापरवाही गर्दा मृत्यु भएको आफन्तको आरोप
उद्घोष सम्वाददाता
२६ साउन २०८१, शनिवार

विराटनगर । सर्पले टोकेर उपचारका लागि ल्याइएकी मोरङको रतुवामाई नगरपालिका–४ झुर्कियाकी ६ वर्षीया बालिका इसिका मुखियाको उपचारको क्रममा शुक्रबार लापरवाही हुँदा मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । बालिकाको शुक्रबार साँझमा उपचारकै क्रममा विराटनगर-७ स्थित विराटनगर सिटी हस्पिटलमा मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको थियो ।

आफन्तले उपचारमा संलग्न चिकित्सकको लापरवाहीले मृत्यु भएको आरोप लगाएका छन् । उनीहरूले अस्पतालमा त्यहाँको प्रशासन र चिकित्सकलाई कारवाहीको माग गरेका छन् ।

मृतक बालिकाका आफन्तका अनुसार बिहीबार राती करिव ९ बजेतिर उनलाई सर्पले टोकेपछि तत्कालै रंगेली अस्पतालमा तत्कालै पुर्‍याएका थिए । तर त्यहाँ उपचार नभएपछि उनीहरूले कोशी अस्पतालमा लैजाने भनेर ल्याइएकोमा एम्बुलेन्स चालकले सिटी हस्पिटल पुर्‍याइदिएको खुलेको छ ।

हस्पिटलमा उनको आइसीयुमा राखेर उपचार गरिएको भएपनि सर्पले टोकेपछि प्रयोग गर्ने एन्टिभेनम औषधीको प्रयोगमा ढिलाई हुँदा मृत्यु भएको जनाइएको छ ।

आफन्तहरूका अनुसार सिटी हस्पिटलमा बालिकाको उपचारमा संलग्न चिकित्सकले एन्टिभेनम कोशी हस्पिटलबाटै ल्याउन लगाएको खुलेको छ ।

तर हस्पिटल प्रशासनले भने बालिकाको उपचारमा कुनैपनि लापरवाही नगरेको दाबी गरेको छ ।

त्यहाँका बालरोग विशेषज्ञ डा. सुमित घिमिरेले बिरामी हस्पिटल आइपुग्दा अक्सिजन खतरापूर्ण अवस्थामा झरेको र गम्भिर अवस्थामै उपचार अघि बढाइएको बताए । 

बालिकालाई १८ एम्पुल एन्टिभेनम प्रयोग गरेपछि होसमा आएको बताए । तर उनको अक्सिजन लेभल बढ्न नसक्दा बचाउने अथक प्रयास गर्दागर्दै पनि निधन भएको दाबी गरे ।

View : 231

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved