Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

पूविमा तीन संकायमा डीनको नियुक्ति र पदस्थापन

उद्‌घोष संवाददाता
१९ साउन २०८२, सोमवार

नवनियुक्त डीनहरूका साथमा उपकुलपति प्राडा थपलिया, रजिष्ट्रार त्रिपाठीलगायत । तस्वीर : उद्घोष

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) मा रिक्त रहेको तीन वटा संकायमा डीनको नियुक्त गरिएको छ । विश्वविद्यालयको कार्यकारी परिषद्ले विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ र कला, कानुन तथा शिक्षाशास्त्र संकायमा डीनको नियुक्ति गरेको हो ।

चारवर्षे कार्यकालका लागि डीन पदमा नियुक्त हुनेहरूमा विज्ञान तथा प्रविधि संकायमा प्राडा पवनकुमार झा, इञ्जिनियरिङ संकायमा प्राडा भोलानाथ शर्मा घिमिरे र कला, कानून तथा शिक्षाशास्त्र संकायमा डा. कोमलप्रसाद दुलाल रहेका छन् ।

नवनियुक्त डीन झा दोस्रो कार्यकालका लागि डीन पदमा नियुक्त भएका हुन् । उनी गत पुस मसान्तसम्म सोही संकायको डीन पदमा कार्यरत थिए । 

प्राडा घिमिरे त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्टिच्युट अफ इञ्जिनियरिङ (आईओई), पुल्चौकमा सिभिल विभागको प्रमुख रहेका थिए । त्यसैगरी डा. दुलाल योजना प्रमुखका रूपमा कार्यरत रहेका थिए ।

रिक्त रहेको डीन पदमा नियुक्तिका लागि स्वीकृत मापदण्डबमोजिम खुल्ला प्रतिस्पर्धाका लागि विज्ञापन आह्वान गरिएको थियो । 

सोहीअनुसार तोकिएको म्यादभित्र आवेदन दिएका आवेदकमध्येबाट डीनहरूको नियुक्ति गरिएको विश्वविद्यालयले जनाएको छ ।

खुल्ला प्रतिस्पर्धाबाट डीनहरूको नियुक्ति गर्ने भनेर सूचना प्रकाशित गरिएको भए पनि छनौट समिति र आवेदकहरूको विवरण भने सार्वजनिक गरिएको छैन ।  

यसैबीच आइतबार नवनियुक्त डीनहरूको पदस्थापन गरिएको छ । 

उपकुलपति प्राडा बिजुकुमार थपलिया, रजिष्ट्रार प्राडा कल्याणी मिश्र त्रिपाठीको उपस्थितिमा पुष्पलालचौकस्थित संकाय डीन कार्यालयमा नवनियुक्त डीनहरूको पदस्थापन गरिएको हो । 

पदस्थापन कार्यक्रममा विश्वविद्यलयका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

View : 534

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved