Biratnagar, Morang, Nepal
२८ असार २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

कांग्रेस विवाद : देउवा पक्षले खोज्यो शेखरको साथ

उद्‌घोष संवाददाता
२८ असार २०८३, आइतवार

Advertisement

विराटनगर । काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय खोलेर ‘नयाँ पार्टी गठनतर्फ अग्रसर’ बनेको नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले डा. शेखर कोइरालाको साथ खोजेको छ । नेता पूर्णबहादुर खड्काको यही सन्देश लिएर देउवा पक्षका नेता डा. प्रकाशशरण महत शनिबार विराटनगरस्थित कोइराला निवास पुगेका थिए ।

शनिबार डा. कोइरालालाई भेट्न डा.महत विराटनगरस्थित कोइराला निवास पुगेका हुन् ।

दुवै नेताबीच कांग्रेसमा देखिएको आन्तरिक विवादका विषयमा छलफल भएको जनाइएको छ । उनीहरू दुई जनाको भेटबारे डा.महतले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । यद्यपि छलफलको विषय भने खुलेको छैन ।

तर, शेखर निकट नेताहरूका अनुसार संस्थापनइतर पक्षको अभियानमा साथ दिन महतले कोइरालालाई आग्रह गरेका थिए ।

‘सकेसम्म पार्टी एकताबद्ध रुपमै अघि बढाउनुपर्छ भन्ने हाम्रो कुरा हो,’ महतले कोइरालालाई भनेको विषय उल्लेख गर्दै शेखर निकट नेताले भने ‘तर, संस्थापनले यसरी पेल्दै जाने हो भने विकल्पहरूमा पनि खुला हुनुपर्छ ।’

महतको कुरामा शेखरले ठोस जवाफ भने नदिएको निकट स्रोतले बताएको छ ।

अझै छलफल गरौं भन्दै कोइरालाले महतलाई भनेको नेताहरुको भनाइ छ । कांग्रेस संस्थापन इतर पक्षले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय खोलेर आफ्ना गतिविधि अगाडि बढाएको छ ।

उनीहरू छुट्टै पार्टी  गठनको तयारीमा जुटेका छन् । यस सन्दर्भमा महतले कोइरालालाई भेटेर साथ खोजेका हुन् ।

कांग्रेसको विशेष महाधिवेशनपछि देउवा र कोइराला पक्ष अहिले कांग्रेस मूलधार बाहिर छन् । सभापति गगन थापालाई १४ औं महाधिवेशनबाट निर्वाचित सिंगो टिम केन्द्रीय समितिमा समाहित गर्न इतर पक्षको दबाब छ ।

तर, सभापति थापाले भने १४ औं महाधिवेशनको सिंगो टिम केन्द्रीय समितिमा समाहित गर्न नमिल्ने प्रष्ट बताइसकेका छन् ।

कांग्रेस विवादमा शेखर पक्ष अहिले पनि ढुलमुलमै रहेको छ । सर्वोच्च अदालतले गगन पक्षलाई आधिकारिकता दिनुअघिसम्म देउवा पक्षसँग साथैमा रहेका शेखर सर्वोच्चको आदेशपछि टाढिएका थिए ।

तर, पछि फेरि देउवा पक्षसँगै मिलेर कोशीसहितका प्रदेशहरूमा अलग भेला गर्न सक्रिय भएका थिए । 

चुनदेवीमा देउवा पक्षले अलग कार्यालय स्थापना गर्ने क्रममा भने शेखर फेरि देउवा समूहबाट टाढा थिए ।

उनलाई टाढिन नदिनकै लागि पूर्णबहादुरले आफ्नो सन्देश बोकेर महतलाई विराटनगर पठाएको बताइएको छ ।

View : 26

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved