विराटनगर । नेपाली कांग्रेसको काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा कोशी प्रदेशको मुद्दाले प्रवेश पाएको छ । पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले शुक्रबारको केन्द्रीय समिति बैठकमा कांग्रेस कोशी सरकारमा सामेल भएर मात्रै नपुग्ने बताउँदै पहिचानको आन्दोलनलाई सम्बोधन गर्नुपर्ने उल्लेख गरेका छन् ।
‘कोशीमा हाम्रो पार्टी सरकारमा सामेल हुने तयारीमा छ तर त्यहाँ सरकारमा मात्रै गएर हुँदैन’, उनले बैठकमा भने ‘कोशीमा पहिचानको आन्दोलन अहिले पनि जारी नै छ । हामीले त्यो आन्दोलनलाई सम्बोधन गर्ने उपाय पनि खोज्नुपर्छ ।’
सहमहामन्त्री आङदेम्बे पाँचथरका नेता हुन् । उनले सरकारमा जाने विषयसँगै प्रदेशको राजनीतिक मुद्दाबारे कांग्रेसले निश्चित धारणा बनाउनुपर्ने बताएका थिए । कोशी नामकरण भएपछि आफूलाई पहिचान पक्षधर दाबी गर्ने विभिन्न संगठनहरुले आन्दोलन गर्दै आएका छन् । प्रदेशमा आन्दोलन चर्किंदा कोशीका १४ जिल्लाका कांग्रेस सभापतिहरुले उनीहरुको माग सम्बोधन गर्न माग गर्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए ।
त्यसपछि कांग्रेस नेता केदार कार्की मुख्यमन्त्री बनिसकेका छन् । अहिले एमाले नेतृत्वको सरकारमा कांग्रेस सहभागी हुने तयारीमा छ । यस्तो बेलामा पार्टी पदाधिकारी तहबाटै यसबारे चासो प्रकट भएको छ ।
कोशीमा कांग्रेसले मन्त्रालय संख्या बढाउने सहमति एमालेसँग भइसकेको बताउँदै आन्तरिक भागबन्डा टुंगो लगाइसकेको छ ।
सभापति शेरबहादुर देउवा समूहबाट २, शेखर कोइराला समूहबाट २ र कृष्ण सिटौला समूहबाट एक जना गरी पाँच मन्त्रालय दाबी गरिरहेको कांग्रेसले मन्त्रीको नाम भने टुंगो लगाएको छैन । ‘१२ गते केन्द्रीय समिति बैठक सकेर मात्रै गण्डकी र कोशीबारे निर्णय होला भन्ने लागेको छ’, केन्द्रीय सदस्य भीम पराजुलीले भने ‘त्यसअघि निर्णय हुने सम्भावना म देख्दिन ।’
कोशीमा भदौ १४ देखि प्रदेशसभा बैठक बस्दैछ । त्यसदिन आफूहरु मन्त्रीसहित सदनमा उपस्थित हुने जानकारी संसदीय दलका नेता उद्धव थापाले यसअघि नै दिइसकेका छन् । तर, अहिलेसम्म कांग्रेस नेताहरुले मन्त्रीको नामबारे छलफलसमेत थालेका छैनन् ।
View : 116
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved