Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

रञ्जनालाई कृष्ण प्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार

उद्‌घोष संवाददाता
२२ माघ २०८०, सोमवार

विराटनगर । प्रेस चौतारी मोरङले यस वर्षको कृष्ण प्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार रेडियो पत्रकार रञ्जना अधिकारीलाई प्रदान गरेको छ ।

चौतारीको २६ औं स्थापना दिवसको अवसरमा सोमबार आयोजित पुरस्कार समर्पण समारोहमा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रेस चौतारी इन्चार्ज राजेन्द्र गौतमले पत्रकार अधिकारीलाई पुरस्कार राशीसहित सम्मान पत्र प्रदान गरेका हुन् ।

मोरङको रतुवामाई– ९ स्थित रेडियो सुनाखरीमा कार्यरत पत्रकार अधिकारीलाई १५ हजार रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरिएको हो । 

पुरस्कार वितरण समारोहका प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य गौतमले अहिलेको अवस्थामा मिडिया क्षेत्रमा पूँजी विहिनता देखिएको बताए ।

स्रोत साधनबिना सञ्चार क्षेत्र बलियो बन्न नसक्ने उनले बताए । त्यसका लागि पत्रकारहरू आफैँले पनि आफ्नो क्षमता विकास गर्दै अघि बढ्नु आवश्यक रहेको बताए ।

गौतमले मुलुक गठबन्धनको बन्दी बनेको आरोप लगाए । सरकार सुशासनका विषयमा सम्झौता गरिरहेको जिकिर गरे ।

‘यसो केही गर्न खोजेजस्तो गरेर फेरी पछि हटिरहेको छ, सरकार सुशासनमा सम्झौता गरिरहेको छ’ उनले भने ।
मुलुकको आर्थिक अवस्था धराशायी रहेको भन्दै त्यसका लागि सरकारले स्वेत पत्र सार्वजनिक गर्नुपर्ने सुझाव दिए ।

नेता गौतमले रबि लामिछाने र हर्क साम्पाङलाई नायक मानेर अघि बढ्ने सक्ने अवस्था नरहेको बताए । उनीहरूले बोकेको सिद्धान्त र छवि पनि स्पष्ट नभएको र नागरिकको तहमा उत्पन्न भएको असन्तुष्टिको जगमा टेकेर धमिलो पानीमा माछा मार्ने भन्दा केही काम नगर्ने दाबी गरे ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, पूर्व केन्द्रीय सदस्य विनोद ढकाल, कोशी प्रदेश कमिटीका प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण तिवारी, प्रेस चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेल, कोशी प्रदेश अध्यक्ष अविजाल बिष्ट, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका महासचिव विवेक गौतम लगायतले चौतारी स्थापना दिवसको अवसरमा शुभकामना दिएका थिए ।

प्रेस चौतारी मोरङका अध्यक्ष सुदीप कोइरालाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय तथा मोरङ इन्चार्ज कमल रिमालले पुरस्कार छनौटको प्रक्रिया, पुरस्कृत पत्रकार अधिकारी र स्वर्गीय कृष्णप्रसाद सिग्देलका बारेमा जानकारी गराए ।

View : 340

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved