Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरमा पहिलोपटक विपश्यना परिचय कार्यक्रम सम्पन्न

उद्‌घोष संवाददाता
१७ साउन २०८२, शनिवार

विराटनगर । पूर्वाञ्चल विपश्यना ध्यान केन्द्र, धम्म विराट इटहरीको आयोजनामा विराटनगरमा पहिलोपटक  विपश्यना परिचय तथा ध्यान कार्यक्रम  सम्पन्न भएको छ।  मोरङ उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा १८७ जना सहभागी भएका थिए।

ध्यान कार्यक्रम स्थानीय समयअनुसार दिउँसो ३ :३० बजे सुरू भई ५ः ३० बजे सम्पन्न भयो। सो दुई घण्टे  अनापाना (श्वासप्रश्वासमा आधारित प्रारम्भिक ध्यान अभ्यास) कक्षा विपश्यना ध्यानमा चासो राख्ने नयाँ सहभागीहरूलाई लक्षित गरी आयोजित गरिएको थियो।

कार्यक्रम सफल बनाउन विपश्यनाका बालध्यान योग शिक्षक राजुचन्द्र दाहाल लगायतले निःस्वार्थ सेवा पुर्‍याएका थिए । सहभागीहरूको अनुशासित उपस्थिति, आत्मिक तयारी र ध्यानमा केन्द्रित प्रयासले कार्यक्रम थप अर्थपूर्ण र प्रभावकारी बनाएको दाहालकले बताए। सहभागीलाई विपश्यनाका गुरु सत्यनारायण गोयन्काको बारेमा जानकारी गराउँदै उनले हिन्दी भाषामा गराएको रेकर्डिङलाई खोलेर ध्यान गराइएको थियो । 

कार्यक्रमका आयोजक संस्था धम्म विराटका तर्फबाट सबै सहभागी, स्वयंसेवक, शुभेच्छुक, प्रायोजकहरू तथा मोरङ उद्योग वाणिज्य संघप्रति विशेष आभार व्यक्त गरिएको छ। विशेषगरी, ध्यानका महान् गुरुदेव गुरु सत्यनारायण गोयन्काको अमूल्य मार्गदर्शन, करुणा र प्रेरणाले कार्यक्रमलाई सफलता प्रदान गरेको आयोजक समितिको भनाइ थियो।

कार्यक्रमको संयोजन तथा व्यवस्थापन पक्ष निकै सन्तुलित र सुव्यवस्थित देखिएको थियो, जसले भविष्यमा यस्ता कार्यक्रम अझ नियमित रूपमा आयोजना गर्न हौसला बढाएको आयोजकको भनाइ छ ।  
योग प्रशिक्षक दाहालका अनुसार विपश्यना ध्यान बुद्धले आत्मबोध प्राप्त गर्ने क्रममा अभ्यास गर्नुभएको ध्यान विधि हो। यसको मूल उद्देश्य मन, शरीर र चेतनाको गहिरो निरीक्षणमार्फत आत्मशुद्धि र आन्तरिक शान्ति प्राप्त गर्नु हो। विपश्यनाको प्रारम्भिक चरणमा ‘अनापाना’ ध्यान गरिन्छ, जसमा स्वासप्रस्वासमा ध्यान केन्द्रित गरिन्छ।


विपश्यना ध्यानको अभ्यासले तनाव, अशान्ति, चिन्ता र मानसिक अशुद्धिको निराकरणमा सहयोग पुर्‍याउँछ भन्ने विश्वासका साथ विराटनगरमा पहिलोपटक आयोजितसो  कार्यक्रमले आम सर्वसाधारणमा ध्यान र आत्मअनुशासनप्रतिको आकर्षण बढाएको देखिन्छ। आयोजक संस्था धम्म विराटले भविष्यमा यस्ता थप कार्यक्रमहरू नियमितरूपमा आयोजना गर्ने प्रतिवद्धता जनाएको छ।

सो अवसरमा विपश्यना ध्यान केन्द्र इटहरीका संरक्षक देवकिसन मुन्दडा, कमल, अम्बिका शाक्य लगायतले विपश्यना ध्यानको महत्वमाथि प्रकाश पारेका थिए  ।

View : 673

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved