Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

विराटनगर भन्सारका पूर्वप्रमुख सापकोटासहित चार जना माथि भ्रष्टाचार मुद्दा

उद्घोष सम्वाददाता
१४ चैत २०८०, बुधवार

विराटनगर । विराटनगर भन्सार कार्यालयका पूर्वप्रमुख ताराप्रसाद सापकोटासहित चारजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी आरोप पत्र दायर गरेको छ ।

अख्तियारले   विराटनगर भन्सारका तत्कालीन प्रमुख सापकोटासहित भन्सार अधिकृत नवकुल शर्मा, देव इन्टरनेशनल प्रालिका सञ्चालक शेरबहादुर बस्नेत र भन्सार प्रतिनिधि शरणकुमार खरेलविरुद्ध मंगलबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

चीनबाट २०७९ पुस २० मा आयात गरेको सामानको प्रज्ञापन पत्र नम्बर एम ७२६ भन्सारको सिस्टममा दर्ता गरेपछि सिस्टमबाटै डिलिट गरी अनिमियतता गरेको र त्यसबाट सरकारलाई ८४ लाख ५५ हजार ६०५ रुपैयाँ नोक्सानी भएको आरोप पत्रमा उल्लेख छ ।

अख्तियारमा प्राप्त भएको उजुरीमाथि छानविन गर्दा विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख सापकोटा र भन्सार अधिकृत शर्मामाथि सामानको जाँचपासका क्रममा न्यून बिजकीकरण गरी गुणस्तर फरक पारी कानुन बमोजिम लिनुपर्ने राजस्व नलिएको आरोप छ । 

अख्तियारले सापकोटा र शर्मासहित देव इन्टरनेशनलका सञ्चालक बस्नेत र भन्सार एजेन्ट खरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दै सरकारलाई नोक्सानी भएको रकम बराबरकै बिगो कायम गरेर आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

घिमिरेका अनुसार भन्सार विभागको अनलाइन प्रणाली आसिकुडामा दर्ता भएको प्रज्ञापनपत्र एम ७२६ लाई हटाएको पाइएपछि भन्सार विभागबाट नियमित ताकेता र निगरानी भएको जनाइएको छ ।

देव इन्टरनेसनलले अमेरिकी डलर ७३ हजार ४३२.४६ बराबरको जुत्ता तथा तयारी गार्मेन्ट चीनबाट आयात गरेको थियो । तत्कालीन भन्सार प्रमुख सापकोटा र अधिकृत शर्माले आसिकुडा सिस्टममा दर्ता भएको प्रज्ञापनपत्र डिलिट गरेको पाइएकोले भन्सार विभाग र अर्थ मन्त्रालयबाट लगातार फलोअप र छानबिन समिति गठन गरेपछि तत्कालीन भन्सार प्रमुख सापकोटा समेतले पुनः उक्त कम्पनीको नाममा एम४०५७ नम्बरको प्रज्ञापन पत्र दर्ता गराई थप राजस्व रकम लिएको पाइएको अख्तियारको दाबी छ ।

जसबाट सरकारको राजश्व चुहावट भएको पुष्टि भएको भन्दै सापकोटा र शर्माले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ को देहाय (घ) बमोजिमको कसुरजन्य कार्यको भएको दाबी गरिएको छ । उनीहरूले गरेको कार्य कसुरजन्य देखिएका कारण सोही ऐनको दफा २१ बमोजिमको उद्योगको कसुर अपराध भएको हुँदा नोक्सानी भएको रकम बिगो कायम गरिएको जनाइएको छ ।

अख्तियारले छानबिन थाल्नुअघि नै भन्सार विभागले प्रमुख भन्सार अधिकृत सापकोटा, भन्सार अधिकृत शर्मा र नायब सुब्बा हिमालय दाहालको बदनियत देखिएको भन्दै २०७९ साउन १३ मै विभागमा तानेको थियो ।

View : 142

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved