Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

भारतीय लरी दुर्घटना: तीन बालबालिकाको शव अझै अस्पतालमा

भासिन थालेको चक्का निकाल्न चालकले बल गर्दा इन्जिन भएको अगाडीको भाग फुत्किएर नहरमा छिरेपछि लरी पल्टिएको थियो । लरीमा लोड गरिएको ढुङ्गाले थिचेर तीन बालबालिकाको ज्यान लिएको प्रहरीको भनाइ छ । ढुङ्गा काटेर बालबालिकाको शव निकाल्न झण्डै साढे चार घण्टा समय लागेको मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए ।
उद्‌घोष सम्वाददाता
१३ फागुन २०८०, आइतवार

विराटनगर । ग्राभेल गर्न थुफारिएको मिक्स गिट्टी छल्ने क्रममा दुर्घटना हुँदा शुत्रबार मृत्यु भएका तीन बालबालिकाको शव अझै अस्पतालमा रहेको छ । मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने स्थानीयले माग गरेका छन् ।

मोरङ बुढीगंगा गाउँपालिका–४ स्थित नेमुवा चोकबाट पूर्व–सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरमा शुक्रबार बिहान आरजे २९ जीबी १५६१ नम्बरको लरी पल्टिएर तीन बालबालिकाको ज्यान लिएको थियो । शुक्रबार दिउँसो कोशी अस्पताल ल्याइएका शवको आइतबार मात्रै पोष्टमार्टम हुने भएको छ ।

दुर्घटनामा ५ वर्षे निशान र इशिता अधिकारी तथा छिमेकी बालिका ७ वर्षीया रिया खवासको सोही ढुङ्गाले च्यापेर ज्यान गएको थियो । घाइते ज्योति अधिकारीको उपचार भइरहेको छ । शनिबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले घाइतेलाई भेटेर उपचार र क्षतिपूर्तिमा सरकारले सहयोग गर्ने आश्वासन दिए ।

पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने स्थानीयको मागलाई सम्बन्धित निकायसम्म पुर्याउन शनिबार छलफल गरिएको प्रहरीले जनाएको छ । शुक्रबार लरी पल्टिएपछि फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थल नजिकै रहेको मार्बल उद्योगका लागि वैश्णो ग्रेनाइट कम्पनीले ढुंगा आयात गरेको थियो ।  

सानो चिया पसल सञ्चालन गरेर बसेका अधिकारीको खुट्टा च्यापिएको थियो । नहरको डिलमा चिया पसल सञ्चालन गरेर बसेका अधिकारी दम्पत्तीको बिहे भएको २० वर्ष नाघेपछि एकैसाथ दुई सन्तान जन्मिएका थिए । सडकमा थुपारिएको मिक्स गिट्टी छल्न दाहिने छेउ लागेको लरीको नरम माटोमा टायर भासिएर पल्टिएको थियो ।

भासिन थालेको चक्का निकाल्न चालकले बल गर्दा इन्जिन भएको अगाडीको भाग फुत्किएर नहरमा छिरेपछि लरी पल्टिएको थियो । लरीमा लोड गरिएको ढुङ्गाले थिचेर तीन बालबालिकाको ज्यान लिएको प्रहरीको भनाइ छ । ढुङ्गा काटेर बालबालिकाको शव निकाल्न झण्डै साढे चार घण्टा समय लागेको मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए । 

दाहालका अनुसार ढुङ्गा आयातकर्ता कम्पनीले त्यसका धनीलाई भारतबाट बोलाउने जनाएका छन् । ढुङ्गा निकाल्नुअघि दुई वटा क्रेनले लरी उठाएको थियो । नहरमा बनेको कालोपत्रे भत्किएपछि पुनः बनाउन प्रदेश सरकारले गत वर्ष ठेक्का लगाएको थियो । बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले सडक ठेकेदार र मार्बल उद्योगको लापर्वाहीले बालबालिकाको ज्यान गएको बताए ।

सडक कालोपत्रे गर्न एक वर्षदेखि बाटोमा ढुङ्गा थुपारेर अवरोध गरिएको र कमजोर सडकबाट भारी वस्तु बोकेको लरी छिराउने उद्योग दुबै दोषी रहेको उनको भनाइ छ । उनले भारबहन क्षमता नहेरी सडकमा रकम लिएर गुड्न दिने प्रहरी र ट्राफिक प्रहरी दुबै दोषी रहेको पनि आरोप लगाएका छन् ।

‘नेपालका सडकले नथाम्ने एक सय ५० टन भारी साधन उतैबाट आउने गरेका छन्’ मगरले भने । ट्राफिक प्रहरीका प्रदेश प्रमुख(एसपी) सरोज पौडेलले भारतबाट आउने मालबाहक साधन विश्व व्यापार संगठनको मापदण्ड अनुसार नै आउने गरेको जनाएर भारतीय भन्सारले नै छाड्ने गरेको बताए । 

View : 3414

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved