Biratnagar, Morang, Nepal
२२ जेठ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

शैलजा आचार्य कोशी प्रादेशिक अस्पतालमा आकस्मिक सेवा सुरु

उद्‌घोष संवाददाता
२१ जेठ २०८३, बिहिवार

विराटनगर । विराटनगर–१० स्थित शैलजा आचार्य कोशी प्रादेशिक अस्पताल तथा हृदय केन्द्रमा ८ शय्याको आकस्मिक सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको छ ।

कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले बिहीबार आयोजित एक विशेष समारोहका बीच रिबन काटेर सो सेवाको विधिवत उद्घाटन गरे ।

 

कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम बमोजिम अस्पतालबाट प्रवाह हुँदै आएका स्वास्थ्य सेवाहरूलाई थप सुदृढ र विस्तार गर्ने उद्देश्य अनुरूप यस आकस्मिक कक्षको स्तरोन्नति गरी सेवा सुरु गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव एवम् अस्पताल व्यवस्थापन समितिका प्रमुख डा. यदुचन्द्र घिमिरेले सर्वसाधारण नागरिकलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार पूर्ण रूपमा संवेदनशील रहेको बताए ।

 

मन्त्रालयका अधिकृत एपोलोकुमार भगतका अनुसार तत्कालका लागि यो आकस्मिक सेवा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुनेछ ।

आकस्मिक सेवालाई चाँडै २४ सै घण्टा सञ्चालन गर्न आवश्यक दरबन्दी र जनशक्ति व्यवस्थापनको प्रयास भइरहेको सचिव घिमिरेले जानकारी दिए ।

तत्कालका लागि सेवा सुचारु राख्न सचिव घिमिरेले स्वास्थ्यकर्मीहरूलाई स्वयम्सेवकको रूपमा रात्रिकालीन सेवा पुर्‍याउन अनुरोध गर्दै आव २०८३–८४ मा नै प्रदेश सरकारले २४ सै घण्टाको स्थायी व्यवस्था मिलाउने ठोस आश्वासन समेत दिए ।

 

कोरोना महामारीको समयमा २०७६ साल चैत २८ गते ’कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र’ को रूपमा स्थापना भएको सो अस्पताल विभिन्न रूपान्तरण पार गर्दै २०८२ कार्तिक १९ गते ५० शय्याको विशेषज्ञ जनरल अस्पताल तथा प्रदेशस्तरको मुटुरोग र प्रसूति केन्द्रको रूपमा सञ्चालनमा आएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. वैभव मल्लिकले बताए ।

नेपाल सरकार, प्रदेश सरकार र स्विस सरकार लगायतका दातृ निकायको लगानीमा यहाँ ८३ शय्याको आईसीयू सेट–अप, ३५ थान भेन्टिलेटर, दुई थान ठूला अक्सिजन प्लान्ट, अत्याधुनिक फोहोर व्यवस्थापन र एचभीएसी प्रणाली जस्ता करोडौँका पूर्वाधारहरू तयारी अवस्थामा छन् ।

अस्पतालले चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म बहिरङ्ग सेवा, ईसीजी, एक्स–रे र इकोसहित हजारौँ विपन्न बिरामीलाई सेवा प्रदान गरिसकेको छ ।

 

हाल अस्पताल सञ्चालनमा रहेको ५ बिघा ७ कठ्ठा १० धुर जग्गाको स्वामित्वसम्बन्धी समस्या यस संस्थाको मुख्य चुनौतीको रूपमा रहेको मेसु डा. मल्लिकले औँल्याए ।

कोभिड महामारीको समयमा खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडबाट अस्थायी सहमति लिई बनाइएका भौतिक संरचनाहरू खाली गर्न वा भाडा बुझाउन कम्पनीले ताकेता गरिरहेकाले यसको दीर्घकालीन समाधानका लागि संघीय र प्रदेश सरकारबीच द्रुत भूमि सम्झौता हुन आवश्यक देखिएको छ ।

 

‘व्यवसायिक तथा सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ को मूल नारासहित सञ्चालनमा आएको सो अस्पतालले आगामी दिनमा आमा सुरक्षा, डायलाइसिस, २४ सै घण्टा ल्याब र स्वास्थ्य बीमा कार्यक्रम जस्ता सेवाहरू विस्तार गर्ने योजना बनाएको छ, जसका लागि थप प्राविधिक तथा प्रशासनिक जनशक्तिको टड्कारो आवश्यकता रहेको मेसु डा. मल्लिकले बताए ।

View : 119

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved