Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

फेरि चुलियो राज्यलक्ष्मीको राजनीतिक चर्चा

यसपटक उनको राजनीतिक चर्चा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग जोडिएर भइरहेको छ । रास्वपाले समानुपातिकतर्फ मधेशी कोटाबाट सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा उनको नाम सार्वजनिक गरेको छ । सम्भावित उम्मेद्वारको प्रारम्भिक सूचीमा कोशी प्रदेशबाट उनको नाम पनि समावेश छ ।
उद्‌घोष संवाददाता
६ पुष २०८२, आइतवार

विराटनगर । गोल्छा घरानाकी राज्यलक्ष्मी गोल्छाको नाम राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फ सम्भावित उम्मेद्वारको रुपमा सार्वजनिक भएपछि उनको राजनीतिक चर्चा फेरि सुरु भएको छ । 

विराटनगरस्थित नेपालकै प्रतिष्ठित औद्योगिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी र नेकपा एमालेबीच पुरानो नाता छ । उनको एमालेसँगको नाता सधैं सुमधुर भने रहन सकेन ।

एमालेसँग राम्रो सम्बन्ध भएका बेला संविधानसभामा समानुपातिक सदस्य बनेर भूमिका निर्वाह गरेकी उनी त्यहीबेला झण्डै पार्टी कारबाहीमा परेकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यवस्थापिका संसद्मा मत दिन अनुपस्थित रहेको भन्दै एमालेले उनलाई संविधानसभाबाट राजीनामा दिन दबाबसमेत दिएको थियो । 

त्यहीबेला उनले सार्वजनिक रुपमै एमालेका धेरै नेताहरुविरुद्ध केही संगीन आरोपहरु लगाएकी थिइन् । खासगरी कुन नेताले आफूबाट कति पैसा लगेको भन्ने कुरा उनले नेताको नाम र रकमको अंक किटेरै भनेकी थिइन् ।

संयोग यस्तो परेको छ कि, त्यसबेला राज्यलक्ष्मीले नाम किटेका धेरै नेताहरु पार्टीको ११ औं महाधिवेशनबाट एमालेको पदाधिकारीदेखि केन्द्रीय कमिटीका विभिन्न पदमा निर्वाचित भएका छन् । यहीबेला राज्यलक्ष्मीको पनि राजनीतिक चर्चा दोहोरिएको छ । 

यसपटक उनको राजनीतिक चर्चा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग जोडिएर भइरहेको छ । रास्वपाले समानुपातिकतर्फ मधेशी कोटाबाट सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा उनको नाम सार्वजनिक गरेको छ । सम्भावित उम्मेद्वारको प्रारम्भिक सूचीमा कोशी प्रदेशबाट उनको नाम पनि समावेश छ । 

नेपालकै चर्चित उद्योग हुलास वायरकी प्रमुख सञ्चालक राज्यलक्ष्मी संविधानसभाको कार्यकाल पूरा गरेयता राजनीतिक गतिविधिमा निष्क्रिय जस्तै  थिइन् । रास्वपाको समानुपातिकतर्फबाट सम्भावित प्रारम्भिक सूचीमा परेपछि भने उनले आफ्नो विगतको अनुभव काम लाग्न सक्ने बताएकी छन् । 

‘उहाँहरुले आफ्नै खुसीले मेरो नाम सम्भावित सूचीमा राख्नुभएको रहेछ, यो राम्रै कुरा हो नि,’ राज्यलक्ष्मीले भनिन् ‘यदि फेरि देशको सेवा गर्ने मौका पाएँ भने गर्छु । शिक्षा क्षेत्रमा म काम गर्नेछु ।’ 

औद्योगिकसँगै विराटनगरमा राज्यलक्ष्मी र उनको परिवारको शिक्षा क्षेत्रमा पनि ठूलो लगानी छ । उनैले स्थापना गरेको कीर्तिका फाउण्डेशनले यूरो किड्स प्लस टु र कलेजहरु सञ्चालन गर्छ । 

संविधानसभामा निर्वाह गरेको जिम्मेवारीको अनुभव आफूसँग भएको र मौका पाए त्यो अनुभवका आधारमा अझै धेरै काम गर्ने लक्ष्य रहेको उनले सुनाइन् । ‘संविधानसभाको अनुभवले निश्चय नै धेरै कुरा सहयोग हुनेछ’ उनले भनिन् । 

आफू विवेकशील साझा पार्टी ‘ज्वाइन’ गर्ने तयारीमै रहेका बेला यी दुई दलले एकता गरेपछि आफू रास्वपामा गएको बताउने राज्यलक्ष्मीले ६ महिना अघिदेखि नै पार्टीका नेताहरुसँग कुराकानी भइरहेको बताइन् । 

‘म त विवेकशील ज्वाइन गर्ने विचारमा थिएँ,’ उनले भनिन् ‘दुई पार्टी एकै भएपछि म रास्वपामा भएँ । मेरो ६ महिना जति भयो, यता सम्बद्ध भएको ।’ 

विराटनगरको प्रतिष्ठित औद्योगिक घराना गोल्छा परिवारका सदस्य महेन्द्रकुमार गोल्छासँग बिहे गरेकी उनको जन्म भारतको चेन्नाइमा भएको थियो । उद्योगी एवम् उद्योगी व्यवसायीका नेतासमेत रहेका  महेन्द्रको  निधन भएपछि सामाजिक क्षेत्रमा उनी सक्रिय भएकी थिइन् । आफ्नो बुवा दक्षिणभारत तमिलनाडुको गभर्नर पदमा दुई पटक पुगेको र बुबाकै प्रेरणाले आफू राजनीतितिर आकर्षित भएको उनले विगतमा बताउने गरेकी थिइन् ।

जतिबेला उनी एमालेबाट समानुपातिक सभासद बन्दै थिइन् त्यसबेला एमालेसँगको पारिवारिक सम्बन्धले नै मुख्य काम गरेको बताएकी थिइन् । 

‘मदन भण्डारी, सुमन प्याकुरेल, सुबोध प्याकुरेलहरुसँग परिवारको राम्रो सम्बन्ध रहेकै कारण म एमालेमा लागेकी हुँ,’ उनले त्यसबेला भनेकी थिइन् ‘त्यही पुरानो पारिवारिक  सम्बन्धको आधारमा संविधानसभामा मौका पाएकी हुँ ।’ 

सभासद बन्दैगर्दा यसो भनेकी उनले पार्टीले राजीनामा गर्न दबाब दिएपछि भने एमाले नेताहरुले आफूबाट ठूलो रकम लिएको आरोप लगाएकी थिइन् । उनको संविधानसभा प्रवेश रामकुमारी झाँक्रीलाई रोकेर भएको भनेर सुरुमा विवाद भएको थियो । 

२०६२–६३ को जनआन्दोलनकी ‘पोस्टर गर्ल’ मानिने झाँक्रीको बदलामा एमालेले राज्यलक्ष्मीलाई चुनेको भनेर एमाले नेताहरु आलोचनाको केन्द्रमा परेका थिए ।

रामकुमारी स्वयम्ले पार्टी नेतृत्वले राज्यलक्ष्मीलाई चुनेर आफूलाई उपेक्षा गरेको गुनासो सार्वजनिक रुपमै गरेकी थिइन् । 

‘सर्वहारा’ को ‘मुक्ति’ को नारा लगाउने एमालेले आफ्नो वर्गीय चेत गुमाएको आरोप पनि लागेको थियो । 

२०७२ को कात्तिक दोस्रो सातासम्म आइपुग्दा भने एमाले नेताहरुले उनलाई संविधानसभाबाट राजीनामा दिन दबाब दिन थालेका थिए । 

ओलीलाई मत दिन नगएको आरोप पार्टीले लगाउँदा उनले आफू उपचारका लागि मुलुकबाहिर भएको प्रष्टीकरण दिएकी थिइन् । तर, केही नेताहरुले तत्कालीन अध्यक्ष केपी ओलीसँग उनको सुलह गराएपछि एमाले सभासदकै रुपमा उनले दोस्रो संविधानसभामा पूरा कार्यकाल जिम्मेवारी निर्वाह गरेको एमाले नेताहरु बताउँछन् । 

एमालेले पदबाट राजीनामा मागेपछि आक्रोशित बनेकी राज्यलक्ष्मीले २०७२ कात्तिक ८ गते विराटनगरमा पत्रकार सम्मेलन गरेर क–कसलाई कति पैसा दिएको भनेर सार्वजनिक गरेकी थिइन् । 

‘मैले एमाले पार्टी र नेताहरुलाई अहिलेसम्म करिब ७ करोड चन्दा दिएको छु,’ उनले भनेकी थिइन् । २०७२ कात्तिक ७ मा कान्तिपुरमा प्रकाशित अन्तरवार्तामा उनले नेताहरुको नामै किटेकी थिइन् ।

कान्तिपुरसँगको त्यो अन्तरवार्तामा उनले भनेकी छन् ‘झलनाथ खनालले सिधै पाँच करोड सहयोग नगरे सभासद बनाउन नसक्ने कुरा गरे । त्यो बेला गंगाधर तुलाधरसँगै थिए । अनि, गोविन्द थापाले पनि १ करोड रुपैयाँ भन्दाबढी लगेका छन् । 

अरु कुरा सार्वजनिक गरे पार्टीमा ठूलो घाटा हुने भएकाले आवश्यक परे सार्वजनिक गरौंला । मसँग सबै प्रमाण छ । अहिले म सार्वजनिक गर्न चाहन्न । युवा संगठनका भूपाल राई, परशुराम बस्नेत र निरु पाललगायतले ६२ लाख रुपैयाँ लगेका छन् ।’ 

उनले नाम लिएका झलनाथ खनाल र गंगालाल तुलाधर अहिले एमालेमा छैनन् । त्यसबेला युवा संघमा रहेका झापा दमकका गोविन्द थापा, विराटनगरका पर्शुराम बस्नेत, निरु पालहरु एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 

त्यसबेला उनले विद्यादेवी भण्डारी, ऋषिकेश पोखरेल, सुमन प्याकुरेल, गोकर्ण विष्ट लगायतलाई आफूले रकम दिएको आरोप लगाएकी थिइन् । 

पूर्वराष्ट्रपति भण्डारीबाहेकका एमाले नेताहरुमध्ये विष्ट उपाध्यक्ष भएका छन् भने अरु केन्द्रीय सदस्य । एमालेसँगको विवाद र संविधानसभाको कार्यकाल पूरा गरेर आफ्नै उद्यममा व्यस्त राज्यलक्ष्मीलाई उनको अनुभवका आधारमा पार्टीले प्रारम्भिक सूचीमा राखेको रास्वपा कोशीका एक नेताले बताए । 

‘नेताहरुले योगदान र अनुभवका आधारमा नाम समेटिएको भनेको सुनेको छु’, कोशी प्रदेशका एक नेताले यसो भने पनि प्रदेशकी कार्यवाहक सभापति गोमा तामाङले भने सबैले स्वेच्छिक रुपमा आवेदन दिएको दाबी गरेकी छन् ।

View : 278

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved