देवधरा खतिवडाको स्मृतिमा स्वास्थ्य शिविर
भोजपुर । षडानन्द नगरपालिका–१४, बोयामा सञ्चालन भइरहेको निःशुल्क आँखा जाँच तथा स्वास्थ्य शिविरमा पहिलो दिन १३० जनाको आँखा परीक्षण गरिएको छ ।
षडानन्द नगरपालिकाको आयोजनामा तथा नेपाल नेत्रज्योति संघ, काठमाडौंको प्राविधिक सहयोगमा बुधबारदेखि सुरु भएको शिविर शनिबारसम्म चार दिन सञ्चालन हुनेछ ।
स्वर्गीय देवधरा खतिवडाको स्मृतिमा उनका छोरा कमलहरि खतिवडाको पहल र समन्वयमा आयोजना गरिएको शिविरमा पहिलो दिन परीक्षण गरिएकामध्ये १७ जनामा मोतियाविन्दु र ६ जनामा आँखामा मासु पलाएको (प्टेरिजियम) समस्या देखिएको जनस्वास्थ्य निरीक्षक दुर्गाबहादुर श्रेष्ठले जानकारी दिए ।
अन्य केही सेवाग्राहीलाई चश्मा र औषधिबाट उपचार सम्भव रहेको र आवश्यक चश्मा तथा औषधिको समेत निःशुल्क व्यवस्था गरिएको श्रेष्ठले बताए ।
शिविरबाट षडानन्द नगरपालिकाका विभिन्न वडा, छिमेकी भोजपुर तथा अरुण गाउँपालिकाका स्थानीयवासीले समेत सेवा लिइरहेका छन् ।
षडानन्द–१४ का वडाध्यक्ष झम्कबहादुर रोकाले दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउन शिविर प्रभावकारी भइरहेको बताए ।
स्थानीय चेतबहादुर श्रेष्ठले यस्ता स्वास्थ्य शिविरहरू नियमित रूपमा सञ्चालन हुनुपर्ने बताए ।
ग्रामीण क्षेत्रमा यस्ता कार्यक्रमले नागरिकलाई ठूलो राहत पुग्ने उनको भनाइ छ ।
View : 559
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved