विराटनगर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता रोक्ने नेकपा एमाले केन्द्रीय कमिटीको निर्णयको प्रभाव पार्टीको तल्लो तहसम्मै देखिन थालेको छ । धनकुटाको हिलेमा मंगलबार सुरू भएको पार्टी कोशी प्रदेश कमिटीको बैठकमा भण्डारीको पार्टी सदस्यता रोक्ने केन्द्रको निर्णयको पक्ष र विपक्षमा प्रदेशका सदस्यहरूले बोलेका छन् ।
बैठकमा सहभागी एमाले नेताहरूका अनुसार दुई दिनसम्म चल्ने बैठकको पहिलो दिन प्रदेश कमिटीका ४० जनाले बोलेका छन् ।
त्यसक्रममा बहुसंख्यक सदस्यले पार्टी विवादको यो विषयमा आफूलाई प्रवेश नै गराएनन् । तर, केहीले भण्डारीको पक्षमा खुलेर बोल्दा केहीले खुलेरै उनको विपक्षमा अभिव्यक्ति दिएका छन् ।
‘बैठकको पहिलो दिन बोलेका ४० मध्ये झण्डै १० जनाले यो विषयमा आ–आफ्नो धारणा प्रकट गरेका छन्’ बैठकमा सहभागी एमाले प्रदेश कमिटीका एक सदस्यले भने ‘त्यसमा चार–पाँच जनाले भण्डारीको पक्षमा र त्यति नै संख्याका सदस्यले विपक्षमा बोलेका छन् ।
ती सदस्यले दिएको जानकारी अनुसार प्रदेश कमिटीका सदस्य रोशन बस्नेतले भण्डारीका पक्षमा खुलेरै बोलेका छन् ।
‘पानी र बानी माथिबाटै संग्लो हुनुपर्छ’ बैठकमा बस्नेतले बोलेको कुरा सुनाउँदै ती सदस्यले भने ‘उहाँले विद्यादेवी भण्डारीको सदस्यता रोक्ने कदम सच्याउन माग गर्नुभएको छ ।’
पार्टीको निर्देशनात्मक निर्णयले पार्र्टी सदस्यहरू निराश भएको र यो निर्णयले मिसन ८४ मा गम्भीर असर गर्ने अवस्था रहेको बताउँदै बस्नेतले बैठकमा भनेका थिए ‘केन्द्रीय कमिटीको निर्णय सच्याउन आम कार्यकर्ताको माग छ ।’
बैठकमा उनले भनेका थिए ‘हिजो अवसर सीमित हुन्थे, ज्ञान र सूचना माथिबाट मात्रै आउँछन् भन्ने मान्यता थियो । तर आज यो सूचना प्रविधिको युगमा ज्ञान र सूचना माथिको ओहदाबाट मात्रै प्राप्त हुँदोरहेछ भन्ने सच्चाइलाई आत्मसात गर्नु आवश्यक छ’, बस्नेतले बैठकमा भने ‘केन्द्रीय कमिटीले गरेको निर्णयहरू सर्कुलरमा आए जस्तो पदाधिकारी र अरू केन्द्रीय नेताहरूमा नभएकोले एकपक्षीय हिसाबले कतिपय नेताहरूले भ्रमित बनाउन खोज्नु भएको छ । सच्चाइ के हो र केन्द्रीय कमिटीको बैठकमा ‘नोट अफ डिसेन्ट’ राखिएको कुरा आएको छ । त्यो के हो । कस्तो थियो ? आउनु पर्दैन ? तल्लो कमिटीमा ल्याउनु पर्दैन ?’
भोजपुरका नेता बस्नेतले नेताहरूले तल्ला कमिटीमा थर्काउने र ‘नोटिस’मा राखिएको छ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति प्रकट गरेका थिए ।
‘यो पार्र्टीमा सदस्यता लिएको ४५ बर्ष भएको, कम्युनिस्ट आन्दोलनमा ३० कै दशकदेखि सम्पूर्ण रूपले समर्पित गर्नु हुने पुर्व उपाध्यक्ष, पुर्व राष्ट्रपति भण्डारीको सम्मानजनक हिसाबले पार्र्टी सदस्यता कायम गरी कार्यकर्ताको भावनालाइ समेटी पार्र्टीलाई थप सशक्त बनाउनु आवश्यक छ’ उनले भने ‘जसले ल्याएको नीतिले, विचारले पार्टी चलेको छ, आज त्यो पार्टीको परिवारको सदस्यलाई तेजोबध गर्ने हिलो छ्याप्ने काम आज नेतृत्व तहबाटै गरिएको छ । त्यो खेदजनक छ । यस्ता आपत्तिजनक भनाइलाई सच्चयाउनु पर्दछ ।’
प्रदेश कमिटीकै अर्की सदस्य अञ्जु पाण्डेले पनि विद्यादेवी भण्डारीलाई रोक्ने पार्टी निर्णय गलत भएको भन्दै सच्याउन माग गरेकी थिइन् ।
सुनसरीकी नेता पाण्डेले बैठकमा भनेकी थिइन् ‘यो निर्णय केन्द्रले अविलम्ब सच्याउनुपर्छ ।’
भोजपुरका पार्टी अध्यक्ष मकर खड्काले केन्द्रमा पूर्व राष्ट्रपतिको सदस्यता विवाद चर्किंदा त्यसको असर तलसम्मै परिरहेको बताएका थिए ।
‘पूर्व राष्ट्रपतिको सदस्यता विवाद केन्द्रमा चर्किंदा त्यसको असर पार्टीको तल्लो तहसम्म देखापरिसकेको छ’ खड्काले बैठकमा भनेका थिए ‘यो विवाद केन्द्रले अन्त्य गर्नुपर्छ । अन्यथा यसले पार्टीको मिसन ८४ लाई असर पुर्याउने संकेत देखापरिसकेको छ ।’
खड्का एमाले कोशीका इञ्चार्ज शेरधन राईका निकट मानिन्छन् । प्रदेशका इञ्चार्जसमेत रहेका पूर्व मुख्यमन्त्री राईले अहिलेसम्म आफ्नो कित्ता प्रष्ट गरिनसकेको एमाले नेताहरू बताउँछन् ।
राई मुख्यमन्त्री हुँदा उनकै स्वकीय सचिव रहेका जिल्ला अध्यक्ष खड्काले बैठकमै ‘विवादले असर परेको’ भनेर बोल्दा त्यसले भण्डारी पक्षधरहरूले आफ्नै पक्षमा उभिएको अनुमान गरेका छन् ।
झापाका नेता होम थापा, निर्मला शिवाकोटी, पाँचथरका मातृका भट्टराई र संखुवासभा अध्यक्ष खड्ग राईले भने पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कन नहुने भन्दै पार्टी केन्द्रको निर्णयको पक्षमा आफूलाई उभ्याएका थिए ।
बैठक उद्घाटनलाई सम्वोधन गर्ने क्रममा महासचिव शंकर पोखरेलले अहिले नै केपी ओलीको विकल्प खोज्ने बेला नभएको, सदस्यता विवाद झिकेर भण्डारीले विधान महाधिवेशनलाई विवादमा ल्याउन खोजेको बताएका थिए । बैठक बुधबार बिहान ८ बजे सुरू हुनेछ ।
View : 587
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved