Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

एमालेमा बधाई दिनमा पनि कन्जुस्याइँ

सबैजनाले बधाई दिंदा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, मोरङका निवर्तमान अध्यक्ष ऋषिकेश पोखरेल अपवादमा पर्नुमा निर्वाचन परिणामले आहत पारेको अर्थमा बुझ्न सकिने एक एमाले कार्यकर्ता बताउँछन् ।
उद्‌घोष सम्वाददाता
४ चैत २०८१, सोमवार

एमाले मोरङको नवनिर्वाचित कमिटीका पदाधिकारीहरु पार्टी कार्यालय पाञ्चालीमा सपथ ग्रहण गर्दै । तस्वीर : उद्घोष

विराटनगर । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन सम्पन्न भई निर्वाचित नेतृत्वले गत बिहीबार पदभार ग्रहण गरिसकेको छ । विराटनगरस्थित एमाले जिल्ला पार्टी कार्यालय पाञ्चालीमा पदभार ग्रहण गर्नेमा नौ महिनाअघि साधारण सदस्यसमेत नरहनेगरी कारवाही भोगेका सागर थापा पनि थिए । 

थापा १० औं अधिवेशनमा जिल्ला कमिटी उपाध्यक्षमा निर्वाचित भएका हुन् । नौ महिनाअघि भने उनी पार्टीको महानगर कमिटी अध्यक्ष थिए । 

मानगढ खानेपानी आयोजना उपभोक्ता समितिको विवादमा थापाले महानगर कमिटीको अध्यक्षमात्रै गुमाएनन्, उनलाई पार्टीको साधारण सदस्यसमेतबाट निलम्बन गरिएको पत्र पनि थमाइएको थियो । 

पार्टीभित्र ‘हस्तिनापुरको राजबाट एकै पटक चपरीमुनिको बास’ हुन पुगेका तिनै थापा नौ महिनापछि फेरि ताजपोसीको अवस्थामा आइपुगेका हुन् । 

यसरी कारवाही गर्ने कमिटीमाथि नै हावी हुँदै विजयी भएपछि सबैभन्दा बढी बधाई थापाले पाएका छन् । ‘धेरै जनाबाट, धेरै ठाउँबाट बधाई पाएँ’ थापाले भने, ‘स्वदेशबाट मात्र होइन, विदेशबाट पनि बधाई पाएँ ।’ 

उनले बधाई दिनेमा उपल्लो तहमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित थुप्रै नेता तथा कार्यकर्ता भएको बताए । उनले आफ्नो पार्टीकाले मात्र नभई अन्य इतर पार्टी संगठन शुभेच्छुकबाट पनि प्रशस्त बधाई आएको बताए । विदेशमा अष्ट्रेलिया, अमेरिका, जापान, क्यानाडा, न्यूजिल्याण्डलगायत संसारका थुप्रै देशमा रहेका आफूलाई चिन्नेजान्ने नेपालीहरूले बधाई दिएको उनले बताए ।

‘मलाई पार्टी महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्यहरू शेरधन राई, हिक्मत कार्की, राजेन्द्र गौतमसहितका नेताहरूले बधाई दिनुभयो’ थापाले भने । तर मोरङ जिल्लाबाटै स्थायी कमिटी सदस्यमा प्रतिनिधित्व गर्ने भानुभक्त ढकालले आफूलाई बधाई दिएको वा नदिएको जानकारी नै नभएको थापाले बताए । 

‘कतै उहाँको बधाई ट्राफिकजाममा पर्‍यो कि, भानुभक्त कमरेडको बधाई मकहाँ आइपुगेको छैन’ थापाले भने । उनले आउनुपर्ने बधाई अर्को पनि नआएको बताए । 

उनका अनुसार, एमाले मोरङका निवर्तमान अध्यक्ष तथा प्रतिनिधिसभा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले पनि एमाले मोरङको नवनिर्वाचित कमिटीलाई बधाई दिएका छैनन् । बधाई दिने मामिलामा ढकाल र पोखरेल मितव्ययी देखिएको थापाको बुझाइ छ । 

धेरैको बधाई प्राप्त गरेर पनि ढकाल र पोखरेलको बधाई नआउँदा खिन्न महसुस गर्नेमा सागर थापा निर्वाचित भएकै कमिटीका सचिव सोमराज थापा पनि छन् । 

‘धेरैले ढिलो भएपनि बधाई दिनुभयो, नसोचेको ठाउँबाट पनि बधाई आयो, तर केही कमरेडको बधाई नआएको साँचो हो’ सचिव थापाले भने । उनले बधाई आउनु वा नआउनु आफ्ना लागि खासै ‘इस्यु’ नभएको बताए । ‘अझै समय छ, आउला नि’ उनले भने । 

पार्टीभित्र तल्लो वा उपल्लो तहका सबैजनाले बधाई दिंदा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, मोरङका निवर्तमान अध्यक्ष ऋषिकेश पोखरेल अपवादमा पर्नुमा निर्वाचन परिणामले उनीहरूलाई आहत पारेको अर्थमा बुझ्न सकिने एक एमाले कार्यकर्ता बताउँछन् । 

एमाले मोरङमा विनोद ढकालको बर्चश्व समाप्त पारेर आफ्नै शक्ति स्थापना गर्ने महत्वाकांक्षामा ब्रेक लागेपछि बधाईको सामन्य लोकाचार पनि बिर्सिएको उनको बुझाइ छ । ‘नभए दुई शब्द बधाई भन्न किन कन्जुस्याइँ ?’ उनले भने, ‘त्यति भन्दैमा जिब्राको गानो जाँदैन थियो होला ।’

नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन गत फागुन १७–१९ मा विराटनगरमा सम्पन्न भएको थियो । अधिवेशनको निर्वाचन कार्यक्रम लम्बिदै सम्पूर्ण परिणाम सार्वजनिक हुन भने झण्डै एक हप्ता लागेका थियो । 

उक्त अधिवेशनमा संस्थापन पक्ष भनेर राजकुमार ओझा र इतर पक्ष भनेर विनोद ढकाल समूहबाट अजम्बर राई अध्यक्षमा प्यानलसहित प्रतिपष्र्धामा थिए । जुन प्रतिपष्र्धामा संस्थापन पक्ष पराजित भई ढकाल समूहको प्यानलै विजयी भएको थियो ।

View : 777

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved