विराटनगर । विराटनगर महानगरपालिका–८ का वडाध्यक्ष राम पोखरेल वडाभित्रका जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य अवस्था बुझ्ने अभियानमा जुटेका छन् ।
वडा कार्यालयले गत वर्षदेखि सुरु गरेको जेष्ठ नागरिकसँग जनप्रतिनिधि कार्यक्रम अन्तरगत स्वास्थ्य अवस्थाबारे बुझ्न टोल अभियानमा जुटेको उनले बताए ।
जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने, स्वास्थ्य परीक्षण गर्ने, सरकारले निःशुल्क उपलब्ध गराएका औषधिबारे जानकारी दिने र जेष्ठ नागरिकलाई स्वास्थ्य सामग्रीहरु समेत वितरण गरिएको उनले जानकारी दिए ।
यस वर्षको अभियान अन्तरगतको पहिलो दिन उपप्रमुख शिल्पा निराला कार्कीसहितको उपस्थितिमा १०३ वर्षीया देवी पाण्डेको घरैमा पुगेर वडाका जनप्रतिनिधि र स्वास्थ्य कर्मचारीले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था जानकारी लिएका छन् ।
वडाध्यक्ष पोखरेलले ज्येष्ठ नागरिक पाण्डेको रक्तचाप, मधुमेहको परीक्षण गर्नुका साथै एक थान पंखा समेत वितरण गरिएको बताए ।
गत वर्ष १२२ जना जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको वडा कार्यालयले जनाएको छ ।
यस पटक वडाबासी ज्येष्ठ नागरिकका लागि आँखा शिविर पनि सञ्चालन गर्ने तयारी गरेको वडा सदस्य भुवन राजवंशीले बताए ।
अभियानमा कार्यपालिका सदस्य ताराकुमारी राय, वडा सदस्य मो.अब्बास, वडा सचिव मनोज मल्लिक, स्वास्थ्य शाखा प्रमुख अञ्जु श्रेष्ठ, समाजसेवी राजन भण्डारी, शोभा निरौला, देवी निरौला, महिला स्वयंसेविकाहरूको उपस्थिति रहेको जनाइएको छ ।
View : 448
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved