विराटनगर, २८ मंसिर : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेकपा माओवादी नेतृत्वको वर्तमान सरकार परिवर्तन गर्नुपर्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँगको सम्वादमा कोइरालाले माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न नसकेको जिकिर गरे ।
उनले सरकारले जनतामा आशा जगाउन नसकेको दाबी गरे । कांग्रेस नेतृत्वको सरकारले मात्रै देशमा विद्यमान समस्या समाधान गर्ने नेता कोइरालाको भनाई थियो ।
‘सरकारसँग जनता निराश भएका छन्, जताततै बेथिति मौलाएको छ, भ्रष्टाचार बढेको छ’ उनले भने, ‘जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ, अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन ।”
कोइरालाले मुलुक आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक अराजकतातर्फ उन्मुख भएको भन्दै चिन्ता व्यक्त गरे । कांग्रेसले मात्रै मुलुकको समस्या समाधान गर्नसक्ने नेता कोइरालाले बताए ।
आफ्नो समूहमा संसदीय दलको नेता परिवर्तनको आवाज उठेको बताउँदै उनले भने, ‘लोकतन्त्रमा अंकको खेल हुन्छ, हामीसित दलको नेता फेर्ने संख्या छैन ।’
एनसेल प्रकरणबारे पत्रकारहरुको जिज्ञासामा प्रतिक्रिया दिंदै नेता कोइरालाले राजनैतिक नेतृत्व, व्यापारी र कर्मचारीको मिलेमतोबिना एनसेल प्रकरणमा हुनै नसक्ने ठोकुवा गरे ।
‘एनसेलमा एक–दुई अर्ब होइन, अर्बौं अर्ब घोटाला भएको छ’ कोइरालाले भने, ‘यति ठूलो घोटालामा राजनैतिक नेतृत्व, व्यापारी र कर्मचारीको मिलेमतोबिना हुनै सक्दैन, कस–कसको संलग्नता छ भनेर विस्तारै अनुसन्धानले खुल्दै जाला ।’
उनले कोशी प्रदेशमा देखिएको नामाकरणको विवादलाई वार्ता र संवादबाट टुंगो लगाउनुपर्नेमा जोड दिए । पहिचानवादीहरुसित वार्ताको टेबलमा बसेर विवाद मिलाउन उनले सुझाए ।
View : 149
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved