Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

भूकम्प पीडितका लागि सहयोग संकलन

उद्‌घोष सम्वाददाता
२४ कार्तिक २०८०, शुक्रवार

धनकुटा : जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोगका लागि धनकुटाबाट १ लाख ४२ हजार रकम संकलन गरिएको छ । धनकुटा उद्योग वाणिज्य संघ, वितरक संघ र होटल एशोसिएसनले राहत संकलन अभियान चलाएर पैसा उठाएका हुन् ।

तीन वटै संस्थाले बुधबार धनकुटामा पत्रकार सम्मेलन गरेर पहिलो चरणमा १ लाख ४२ हजार १ सय ४० रुपैयाँ रकम संकलन भएको जानकारी दिएका छन् । सोमबार हिले बजार र मंगलबार धनकुटा बजारमा सहयोग संकलन अभियान चलाइएको थियो ।

अभियानका क्रममा धनकुटा बजारबाट ८० हजार ३५ र हिले बजारबाट ६२ हजार १ सय ५ रकम संकलन भएको छ । अब धनकुटाका अन्य बजारहरुबाट पनि सहयोग संकलन गरेर सरकारको उद्धार तथा राहत कोषमा रकम जम्मा गरिने उद्योग बाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।

पत्रकार सम्मेलनमा उद्योग बाणिज्य संघका अध्यक्ष राई, बरिष्ठ उपाध्यक्ष तारा तितुङ, सचिव श्रीराम रायमाझी, पूर्व अध्यक्ष लालचन्द गोङ्वा र होटल एशोसिएसनका उपाध्यक्ष डम्बरबहादुर काफ्लेले दुखमा परेकाहरुलाई सहयोग पुर्‍याउन रकम संकलन गरिएको भन्दै संकलित रकम एक रुपैयाँ पनि खर्च नगरी पीडितहरुका लागि पठाइने जानकारी दिए ।

पत्रकार महासंघका अध्यक्ष नगेन्द्र राईले सहयोग संकलन गरेर मानवीय धर्म निर्वाह गरेको भन्दै अभियानमा खटिनेहरुलाई धन्यवाद ज्ञापन गरे ।

गत शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको ज्यान गएको छ भने ३६४ जना घाइते भएका छन् । त्यहाँका भूकम्प पीडितहरुलाई विभिन्न क्षेत्रबाट सहयोग प्रदान गर्ने क्रम चलिरहेको छ ।

View : 182

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved