विराटनगर । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको आन्तरिक विवाद अन्त्य गर्दै एकताबद्ध भएर १५औँ महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् ।
मंगलबार अपिल जारी गर्दै देउवाले पार्टीको विधि, विधान र पद्धतिविपरीत विशेष महाधिवेशनका नाममा एकपक्षीय रूपमा अघि बढ्ने प्रयासले नेपाली कांग्रेसलाई कमजोर बनाउने दाबी गरेका हुन् ।
विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै उनले अदालतको अन्तिम निर्णय नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु कानुनी, राजनीतिक तथा नैतिक दृष्टिले उचित नभएको बताएका छन् ।
उनले विशेष महाधिवेशन पक्षधरहरूले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
देउवाले १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक र नैतिक दायित्व भएको बताएका छन् ।
आफूलाई व्यक्तिगत रूपमा कुनै पदको लोभ नभएको उल्लेख गर्दै उनले पार्टी र राज्यले आफ्नो अनुभवको आवश्यकता ठाने जीवनको अन्तिम क्षणसम्म जिम्मेवारी निर्वाह गर्न तयार रहेको स्पष्ट पारे ।
उनले भनेका छन्, ‘पार्टीलाई कमजोर गर्ने, विभाजन गर्ने गरी अवैधानिक रूपमा अधिवेशन गरिएमा म पार्टीलाई कमजोर गर्ने कार्य हुँदा मुकदर्शक भएर बस्न सक्ने छैन ।’
देउवाले आगामी मंसिर २१, २२ र २३ गते हुने १५औँ महाधिवेशनको तयारीमा सबै नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई जुट्न आग्रह गरेका छन् । पार्टीभित्रको विवाद समाधानका लागि एकता, सहमति र सहकार्य नै कांग्रेसको परम्परा भएको उनको भनाइ छ ।
View : 22
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved