सुनसरी । बढ्दो सवारी दुर्घटना न्युनीकरण गर्नका लागि भन्दै कोशी प्रदेशका तीन जिल्लामा शनिबारदेखि यात्रुबाहक सवारी साधनको लागि टाइम कार्ड लागू गरिएको छ ।
कोशी प्रदेशमा जथाभावी तीब्र गतिमा गुड्ने सवारी साधनको गति कम गर्नका लागि शनिबारदेखि टाइम कार्ड लागू गरिएको हो ।
मोरङको सुन्दरहरैंचा–७ स्थित गछिया चोकमा एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङले टाइम कार्डको सुरूवात गरे ।
पहिलो चरणमा पूर्वपश्चिम राजमार्गको काँकडभिट्टादेखि कोशी ब्यारेज र कोशी राजमार्गको विराटनगरदेखि धरानसम्मको रूटमा चल्ने यात्रुबाहक सवारीसाधनलाई लक्षित गरी झापा, मोरङ र सुनसरीमा टाइमकार्ड लागू गरिएको हो ।
टाइमकार्ड अनुसार विराटनगर बसपार्कदेखी इटहरी बसपार्क सम्मको २४ किलोमिटर दुरीका लागि ४५ मिनेटको समय अवधि तोकिएको छ भने इटहरीदेखी धरानसम्म २० किलोमिटर दुरीको लागि ३८ मिनेटको समय अवधि तोकिएको छ ।
काँकडभिट्टादेखि बिर्तामोडसम्मको १७ किलोमिटर दुरीको लागि ३० मिनेट समय निर्धारण गरिएको छ । झापाको केर्खादेखि मोरङको बेलबारीसम्मको ३३ किलोमिटर दुरीको लागि एक घण्टाको समय निर्धारण गरिएको छ ।
कोशी प्रदेशमा दैनिक दुईदेखि तीन जनाकोे सवारी दुर्घटनामा मृत्यु हुने गरेको छ ।
पछिल्लो १५ दिनको अवधिमा मात्रै कोशी प्रदेशमा भएको सवारी दुर्घटनामा २५ जनाको मृत्यु भैसकेको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गस्थित झापाको काँकडभिट्टादेखि मोरङको दुलारीसम्म र कोशी राजमार्गको विराटनगरदेखि सुनसरीको धरान तीनकुनेसम्म अत्यधिक दुर्घटना हुने गरेको छ ।
‘टाइम कार्ड’ लागू गरेपछि सवारी साधनको ‘स्पीड’ कम हुने र दुर्घटना न्यूनीकरण हुने विश्वास गरिएको छ ।
View : 114
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved