विराटनगर । कोशी प्रदेशस्तरीय सफ्ट टेनिस प्रतियोगिता बुधबारबाट विराटनगरमा सुरू भएको छ । उद्घाटनकै दिन दुई पुरूष र चार महिला खेलाडी विजयी हुँदै सेमिफाइनलमा पुगेका छन् ।
मोरङ जिल्ला सफ्ट टेनिस संघले आयोजना गरेको प्रतियोगिताको पुरूष एकल खेलमा बाई पाएर क्वाटर फाइनल पुगेका अशलेश ढकालले किशोर जंग बस्नेतलाई ४-० ले र आभाष बुढाथोकीले विश्वास सिंहलाई ४-० ले पराजित गरेर सेमिफाइनलमा पुगेका हुन् ।
महिला सिंगलतर्फ अभिलाशा लामिछाने, श्रेया राई, रेजिना तामाङ र श्रेया योञ्जन सेमिफाइनलमा पुगेका छन् । लामिछानेले याना राजभण्डारीलाई ४—१ को अन्तरले, राईले मुस्कान मुन्दडालाई ४—० को अन्तरले पराजित गरेकी हुन् । तामाङले आरूशी लामिछानेलाई ४—० को अन्तरले र योञ्जनले श्रेया उपाध्यायलाई ४—० कै अन्तरले पराजित गरेको रेफ्री राजेश लामिछानेले जानकारी दिए ।
बिहीबार महिला जोडी र पुरूष जोडीका प्रतियोगिताहरू हुने छन् । प्रशिक्षक राजेश बोहराका अनुसार ६ जना भेट्रान (अग्रज) खेलाडीबीच पनि प्रतियोगिता गराइने छ । सो खेल लिगमा खेलाइने छ । उद्घाटनमा सफ्ट टेनिसका पूर्व खेलाडीहरूलाई पनि सम्मान गरिएको छ ।
प्रदेशस्तरीय प्रतियोगितामा ३० जना खेलाडीको सहभागिता रहेको छ । सबै बिधामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १०, ८ र ६ हजार रूपैंयाँ नगद पुरस्कार दिइनेछ । प्रतियोगिता उद्घाटन गर्दै प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले खेल र खेलाडीको स्तरबृद्धीका लागि बोर्ड तयार रहेको बताए ।
आयोजक संघका अध्यक्ष श्यामकुमार लामाका अनुसार नेपालमा सबैभन्दा बढी पुरस्कार जित्ने सो खेलका खेलाडी विराटनगरका छन् ।
View : 284
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved