विराटनगर । तेह्रथुमको लालीगुराँस नगरपालिका–२, वसन्तपुरमा रहेको नवराज पोख्रेल स्मृति प्रतिष्ठानले २०८२ सालको शैक्षिक छात्रवृत्ति मंगलबार प्रदान गरेको छ । खोटाङ जिल्लाको रावा कुभिन्डेमा जन्मिएर तेह्रथुमको वसन्तपुरमा आजीवन समाजसेवामा समर्पित रहेका नवराज पोख्रेलको सम्झनामा सो छात्रवृत्ति स्थापना गरिएको हो ।
प्रतिष्ठानले वसन्त मावि., वसन्तपुरमा बाली विज्ञान विषय अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दछ । यस वर्षको छात्रवृत्ति झरना गुरुङ र केशव पौडेललाई प्रदान गरिएको छ । झरना गुरुङ धर्मदेवी नगरपालिका–३, शङ्खुवासभाकी हुन् भने केशव पौडेल लालीगुराँस–३, का हुन् । दुवै विद्यार्थीले जनही नगद २५ हजार सहितको प्रमाणपत्र प्राप्त गरेका छन् ।
नवराज पोख्रेल ‘सादा जीवन र उच्च विचार’को आदर्शबाट प्रेरित थिए र उनी ‘जम्दार बा’को नामले पनि चिनिन्थे । उनको स्मृतिमा स्थापित प्रतिष्ठानले विद्यार्थीहरूलाई शिक्षामा प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । सो पुरस्कार प्रतिष्ठानकी संरक्षक पद्मादेवी पोखरेल, विद्यालयका प्रधानाध्यापक नरेन्द्रप्रसाद काफ्लेले सो पुरस्कार वितरण गरेको प्रतिष्ठानका सदस्य सीए मनोज अधिकारीले बताए ।
View : 188
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved