Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

इलाममा अघि बढ्यो चिया र अलैंची अनुसन्धान केन्द्रको काम

उद्घोष सम्वाददाता
२ माघ २०८०, मङ्गलवार

मंगलबारे (इलाम)। इलाममा एकसाथ चिया र अलैंचीको अनुसन्धानका लागि अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । चिया र अलैंचीको उर्वरभूमि भएकाले यहाँ उत्पादन र गुणस्तर बढाउन अनुसन्धान केन्द्र स्थापना गरिने भएको हो ।

केन्द्र स्थापनाका लागि इलाम नगरपालिका-१ साँखेजुङका दाहाल परिवारले जग्गादान गरेका छन् । राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धान केन्द्र स्थापना हुने भएको हो । जसका लागि जग्गा व्यवस्थापनको काम इलाम नगरपालिकाले गरिरहेको छ ।

इलाममा चिया उत्पादन हुन थालेको करिब एक सय ६० वर्षपछि चिया अनुसन्धानका लागि केन्द्र स्थापना हुने भएको हो । यसले जिल्लाका किसान खुसी छन् । जग्गा प्राप्तिसँगै कार्यालय स्थापनाको काम सुरु भएको छ ।

पहिलो चरणमा भवन निर्माणका लागि १३ रोपनी क्षेत्रफललाई सम्याइएको छ । सो स्थानमा भवन निर्माणका लागि ठेक्का समेत लागिसकेको इलाम नगरपालिका प्रमुख केदार थापाले बताए । चिया प्रशोधनतर्फ २० लाख रुपैयाँ बराबरको रकमबाट काम भइरहेको छ ।

अनुसन्धान केन्द्रका लागि इलामको साँखेजुङमा ४२ रोपनी जग्गा व्यवस्थापन गरिएको छ । स्थानीय रेतनाथ दाहालले १३ रोपनी, मित्र दाहालले १४ रोपनी तथा देवी दाहालले १५ रोपनी जग्गा हस्तान्तरण गरेको इलाम नगरपालिका–४ का वडाध्यक्ष तथा इलाम नगरपालिका प्रवक्ता नुतनदेव दुलालले जानकारी दिए ।

पहिलो चरणमा पर्खालका लागि तारबार र कार्यालय भवन निर्माण गरिने छ । अनुसन्धान केन्द्रका लागि एक सय रोपनीभन्दा बढी जमिन आवश्यक पर्ने बताइएको छ । ४२ रोपनी जग्गा प्राप्त भइसकेको र अब थप ५२ रोपनी जग्गा आवश्यकता छ । अन्य जग्गादाताले अनुसन्धान केन्द्रका लागि आवश्यक पर्ने जमिनसमेत उपलब्ध गराउन पहल भइरहेको प्रवक्ता दुलालको भनाइ छ ।

इलाममा धेरै किसान चियाखेतीको आम्दानीमा निर्भर छन् । उत्तिकै संख्यामा अलैंची किसानसमेत छन् । विदेशी मुद्रा आर्जन गर्ने नगदेबालीमा पर्ने अलैंची र चियाको विकासका लागि एकैसाथ काम भइरहेको इलाम नगरप्रमुख थापाको भनाइ छ । नगरपालिकाले कृषिलाई प्राथमिकतामा दिएअनुसार नै केन्द्र स्थापना गर्न लागिएको हो ।

महँगो मूल्यमा अलैंची बिक्री भए पनि अलैंची मासिने क्रम नरोकिएकाले यसको खेती गर्ने किसानको संख्यामा कमी हुँदै गएको छ । अलैंचीको अनुसन्धानसमेत यहीँ गरिने भएपछि अब यससँग सम्बन्धित किसानको संख्या बढ्ने अपेक्षा छ । विसं १९२० मा चिया रोप्न सुरु गरिएको इलाममा सरकारले अनुसन्धान केन्द्र स्थापना गर्न लागेको हो ।

चिया किसान किशोर खतिवडाले केन्द्र स्थापनापछि बीचबीचमा चियामा लाग्ने स–साना रोगको पहिचान हुने र उत्पादन बढाउन किसानलाई सहज हुने बताए । हाल चिया प्राविधिकसमेत सिकिरहेका उनका अनुसार यसले प्राविधिकलाई थप दक्ष बनाउन मद्दत मिल्ने छ । अलैंची र चियामा लागि उत्पादनका हिसाबले इलाम उर्वर मानिन्छ । इलाममा अनुसन्धान केन्द्र स्थापना पनि नेपाली चिया र अलैंचीको अनुसन्धान गर्न चाहनेका लागि सहज हुनेछ ।

स्वदेश र विदेशमा रहेका चिया अध्ययन, अवलोकन र अनुसन्धान गर्नेसमेत आउने हुँदा जिल्लामा पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा छ । रासस

View : 251

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved