विराटनगर । कोशी प्रदेशको प्रहरी प्रमुख भएर आएका नायव महानिरीक्षक चन्द्रकुवेर खापुङले आफ्नो ठाउँमा राम्रो गर्ने उद्देश्यले आएको बताएका छन् ।
उनले बुधबारबाट प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी लिएपछि उद्घोषसँगको कुराकानीमा आफू कोशी प्रदेशकै भएकाले केही राम्रो काम गर्ने उद्देश्यले आएको बताए । तेह्रथुम मोराहाङ मुल थलो भएका कोशी प्रदेशका बासिन्दा खापुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रदेश प्रहरी प्रमुखमा सरुवा भएर आएका हुन् ।
यहाँ कार्यरत नायव महानिरीक्षक राजेशनाथ बास्तोला सरुवा भएपछि उनको ठाउँमा आएका खापुङले आफ्नो प्रदेशमा केही सकेसम्म राम्रो काम गर्ने उद्देश्य लिएर आएको बताए । कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङका भतिजा उनी नेपाल प्रहरीमा दक्ष र होनहारका रुपमा चिनिन्छन् । उनी प्रहरी सेवामा निरीक्षक पदबाट प्रवेश गर्ने बित्तिकै मोरङमा लामो अवधि बसेका थिए ।
जिल्ला प्रहरी, वडा प्रहरी, इलाका प्रहरी बेलबारी र उर्लाबारीमा बसेर अनुभव लिएका खापुङ प्रदेशलाई सेवा प्रवेश गर्नु अघिदेखिनै अध्ययन गरिसकेका ब्यक्ति हुन् । उनको सामु हाल कोशी प्रदेशको नामाङ्कनको विषयमा पहिचानको नारा लिएर गरिएको आन्दोलन चुनौति बन्न सक्छ । पहाडी जिल्लाका मानिस प्रदेशको नाम कोशी हटाउंनु पर्ने नारा लिएर कडा आन्दोलनमा छन् ।
गत पुस २४ को निर्णय अनुसार सरुवा भएर आएका खापुङले कार्यभार सम्हाल्दै प्रहरी कर्मचारीलाई सेवामा समर्पित हुन निर्देशन दिएका छन् । आचरण र ब्यवहारमा सुधार ल्याई कानुनको परिधिमा रहेर पदीय जिम्मेवारी बहन गर्दै शान्ति सुरक्षामा खट्न उनले निर्देशन दिएका छन् । खापुङले जनचाहना बमोजिमको सेवा प्रदान गर्न मातहतका सुरक्षाकर्मीलाई निर्देशन दिए ।
View : 238
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved