Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

माओवादी कोशी प्रदेश कोषाध्यक्ष गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

पुरीविरुद्ध २०७७ माघमा अकुत सम्पत्ति आर्जन गरेको भन्दै १२ करोड १३ लाख ६२ हजार रुपैयाँ बिगोसहित विशेष अदालतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
उद्‌घोष संवाददाता
२८ माघ २०८०, आइतवार

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटीका कोषाध्यक्ष गगन भनिने रेवतराज पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष अदालतले पुरी विरुद्धको सम्पत्ति शुद्धिकरण सम्बन्धि मुद्दामा आइतबार फैसला गर्दै कसुर ठहर गरेको हो ।

विशेष अदालतका न्यायधीसहरु टेकनारायण कुँवर, तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पुरीलाई कसुर ठहर गरेको जनाइएको छ ।

पुरीविरुद्ध २०७७ माघमा अकुत सम्पत्ति आर्जन गरेको भन्दै १२ करोड १३ लाख ६२ हजार रुपैयाँ बिगोसहित विशेष अदालतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धि मुद्दा चलिरहेकै बेला उनी झापाको क्षेत्र नम्बर ५ को प्रदेश सभा (२) बाट उम्मेदवार बनेका थिए ।

पुरीले २० बिगाहा सरकारी जग्गा किर्ते गरी आफ्नो नाममा पारेर विभिन्न व्यक्तिहरूलाई बेचबिखन गरी सम्पत्ति बढाएको आरोप लागेको थियो । उक्त विषयमा सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतमा पुरीसहित उनकी श्रीमती केशावती, दिदी मनमाया, नातेदार देवकुमार, कृष्णकुमार र संगीता पुरीविरुद्ध पनि मुद्दा दायर भएको थियो । विशेष अदालतले उनीहरूलाई समेत कसुरदार ठहर गरेको विशेष अदालत स्रोतले जनाएको छ ।

उनीहरु विरुद्धको मुद्दामा आइतबारको फैसलाले कसुर ठहर गर्दै सजाय निर्धारणका लागि पेस गरिने जनाइएको छ । 

View : 2088

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved