माहेश्वरी महिला मञ्च विराटनगरको नेतृत्व चयन
माहेश्वरी महिला मञ्च विराटनगरको नवनिर्वाचित कार्यसमिति ।
विराटनगर, ३१ असार ।
मारवाडी समुदाय अन्तर्गतको माहेश्वरी महिला मञ्च विराटनगरको अध्यक्षमा ललिता जाजू चयन भएकी छन् । आइतबार सम्पन्न साधारण सभाले जाजूको अध्यक्षतामा २१ सदस्यीय कार्यसमितिको चयन गरेको छ । जाजू यसअघि मञ्चको प्रथम उपाध्यक्ष थिइन् ।
साधारण सभाले प्रथम र द्वितीय उपाध्यक्षमा क्रमशः अनामिका परतानी र शीतल बाहेतीलाई चुनेको छ । त्यस्तै सचिवमा कल्पना राठी, सहसचिवमा अर्चना तापडिया र कोषाध्यक्षमा ललिता राठी चुनिएका छन् ।
त्यसै गरी महिला सशक्तीकरण सचिवमा पूनम राठी, स्वास्थ्य सचिवमा प्रीति अटल, सांस्कृतिक सचिवमा लीला काबरा, सांस्कृतिक सहसचिवमा सन्जु बाहेती र शिक्षा सचिवमा पूजा सोमानी छन् ।
कार्यकारी सदस्यमा विन्दु अटल, प्रीति राठी, चन्दा तापडिया, एकता तापडिया, सरिता राठी, पूजा राठी, पुजा सादानी, मोनाली काबरा र स्नेहा लखौटिया छन् ।
साधारण सभामा निवर्तमान अध्यक्ष पूनम राठीले आफ्नो १७ महिनाको कार्यकालमा समाजसेवाका कार्यक्रम सम्पन्न गरेको जानकारी दिइन् ।
जसमा विपन्न परिवारका १५ जोडीको सामूहिक विवाह, विपन्न परिवारका १५ महिलालाई सिलाइकटाइको आधारभूत तालिम दिएर सिलाइ मेसिन प्रदान, फरक क्षमता भएका ९ जनालाई कृत्रिम अंग दिइएको, वृद्धाश्रममा १५ वटा पंखा उपलब्ध गराइएको, सोमबारे हाटस्थित जनता माविमा खानेपानीको फिल्टर प्लान्ट लगाइएको लगायतका छन् ।
साधारण सभामा माहेश्वरी समाज विराटनगरका अध्यक्ष घनश्याम काबरा र अखिल भारतवर्षीय माहेश्वरी महिला मञ्चका पूर्वाञ्चल उपाध्यक्ष गिरिजा शारडाले मानवताको सेवाका लागि राठीको कार्यसमितिले उदाहरणीय कार्य गरेको उल्लेख गर्दै आगामी कार्यसमितिले पनि यस्तै कार्यशैली अपनाउनुपर्ने बताए ।
उक्त अवसरमा सचिव शीतल बाहेती र कोषाध्यक्ष अर्चना तापडियाले प्रतिवेदन प्रस्तुत गरेका थिए।
View : 134
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved