विराटनगर । साना तथा मध्यम स्तरका कम्पनीका लागि छुट्टै शेयर बजार मार्केटको सरोकारवालाहरूले माग गरेका छन् ।
शनिबार मोरङ उद्योग व्यापार संघमा आयोजित नेपालको अर्थतन्त्रमा शेयर बजारको प्रभाव विषयक छलफलमा साना तथा मध्यम स्तरका कम्पनीलाई शेयर बजारमार्फत लगानी सुरक्षा गर्नुपर्ने बताए ।
मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष विकास वेगवानीले शेयर बजारमा हुँदै आएको परम्परागत लगानीको सोचलाई ‘ग्रोथ’ मा परिणत गर्नुपर्ने बताए ।
उनले नेपालमा अहिले धेरै कम्पनीहरू ‘पब्लिक’ कम्पनीका रूपमा जान खोजेकोले लगानीकर्ताले पनि ती कम्पनीमार्फत आफ्नो लगानीको ‘ग्रोथ’ बढाउनु पर्ने बताए ।
उनले साना तथा मध्यम खालका कम्पनीलाई भारतमा जस्तै नेपालमा पनि छुट्टै शेयर बजार ‘इन्डेक्स’ आवश्यक रहेको र लगातार तीन बर्ष नाफा हाँसिल गरेपछि नेप्सेको मार्केटमा ल्याउनु पर्ने धारणा राखे ।
साथै, २० बर्षदेखि कम्पनी खडा गरेर ‘पोर्टफोलियो’ बनाइसकेको कम्पनीलाई ‘बुक भ्यालु’ मा शेयर जारी गर्ने व्यवस्था अन्त्य गर्नुपर्ने बताए ।
मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनन्त चापागाईँले बैंकहरूले विगतमा कर्जा लगानीमा अग्रसर बन्दा गल्ती भएको स्वीकार गरे ।
उनले १५ बर्षको लागि गर्नुपर्ने लगानी एकै बर्षमा गर्न खोज्दा बैंक तथा वित्तीय संस्थामा अप्ठेरो परेको कुरालाई ध्यान दिएर अहिले कर्जा नीतिलाई सुधार भएको बताए ।
शुभकामना सेक्यूरिटिजका निखिल अग्रवालले नेपालको शेयर बजार सुरक्षित रहेको बताए । उनले राम्रो कम्पनीमा गरिने लगानीले सवैलाई प्रतिफल दिने बताए ।
रोटरी क्लब विराटनगर फ्युजन र रोटरेक्ट क्लब विराटनगरसँगको सहकार्यमा आयोजित कार्यक्रममा सहभागी विद्यार्थीहरूले नेपालको शेयर बजारको सरोकारका विषयमा धारणा राखेका थिए ।
उनीहरूले नेपाली शेयर बजारको आकार ठूलो हुँदै गइरहेको तर अस्पष्ट नीतिहरूका कारण शेयर बजारमा नकारात्मक उतार चढाव र प्रभाव देखिने गरेको बताए ।
सहभागीहरूले नीति नियममा पर्याप्त सुधार, आईपीओ खुल्ने दरमा वृद्धि गरी निजी क्षेत्रको विश्वास पुनः जागृत गर्ने खालका सुधारात्मक काम गर्नुपर्ने सुझाव दिए ।
साथै, लगानीकर्ताहरूको आकर्षण बढ्ने र आर्थिक वृद्धिको माध्यम बन्ने मोरङ उद्योग व्यापार संघका कार्यकारिणी सदस्य ओमप्रकाश शर्माले बताए ।
View : 215
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved