कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर तिला नदीमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा तिनै जनाको घटनास्थलमा मृत्यु भएको जनाइएको छ ।
मृत्यु हुनेमा दुई जना स्काभेटरका अपरेटर र एक जना सहचालक रहेको कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए ।
उनका अनुसार मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शंकर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालीकोटको शुभकालिका–२ का नवराज शाही रहेका छन् ।
मृतक तीनै जना सेरी पान्तडी सडक खन्ने काममा संलग्न थिए । भीरबाट तीन वटै शव निकालेर सडकका ल्याएको र परीक्षणका लागि आफन्त बोलाएर सदरमुकाम लैजाने तयारी भएको प्रहरी प्रमुख खत्रीले बताए ।
उनका अनुसार गाडी सडकबाट ५०० मिटर तल तिला नदीको किनारामा टुक्राटुक्रा भएको अवस्थामा छ ।
जिप चालक प्रहरीको सम्पर्कमा आएको तर सोधपुछ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर आएपछि सदरमुकाम मान्मबाट प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयल, प्रहरी प्रमुख खत्रीसहित जनपद प्रहरी, सशस्त्र प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो ।
View : 161
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved