विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको स्वास्थ्य तथा जनसंख्या विभागले प्रदेशका स्वास्थ्य क्षेत्रका समसामयिक समस्या औंल्याउँदै सरकारलाई ध्यानाकर्षण गराएको छ ।
विभागका प्रमुख एवं नेकपा एमाले कोशी प्रदेश कमिटीका उपसचिव देवान राईको नेतृत्वमा स्वास्थ्य मन्त्रालय पुगेको टोलीले कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईलाई २० बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
उक्त विभागको शनिबार बसेको बैठकले कोशी प्रदेशका स्वास्थ्य क्षेत्रका सवालहरूमाथि छलफल गरी सरकारलाई सुझावसहितको ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार विभागले सरकारको सम्बन्धित स्वास्थ्य मन्त्रालयका मन्त्री राईनै भेटेर ध्यानाकर्षण पत्र बुझाइएको विभागका प्रमुख देवान राईले बताए ।
ध्यानाकर्षण पत्रमा कोशी प्रदेशको समग्र स्वास्थ्य अवस्थाको तथ्यांकको अध्यावधिकका लागि कार्यदल गठन गरी प्रदेश स्वास्थ्य ऐन तथा नीति निर्माण गर्न माग गरिएको छ ।
त्यसैगरी एमालेको नेतृत्वको सरकारले सुरु गरेको सवै पालिकामा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि ५, १० र १५ शय्याका अस्पतालको निर्माणलाई तिब्रता दिन, स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी ढंगबाट सूचारु गर्न, औषधि आपूर्ति सहजता कायम गर्न कार्यविधि तयार गरी कार्यान्वयन गर्न माग गरिएको छ ।
विभागका सचिव रुपेश खतिवडाका अनुसार प्रदेश तथा मातहतका अस्पतालहरूमा अपरेशन, डाइलासिसलगायतका सेवाहरु सर्वसुलभ बनाउन पनि सरकारसँग गरिएको छ ।
प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाई यथाशीघ्र कार्यान्वयन गर्न, ज्येष्ठ नागरिकको सक्रिय र स्वस्थ जीवनका लागि सहभागिता, सुरक्षा र उचित स्वास्थ्य सेवा उपलब्ध गराउन, प्रदेशका अस्पताल, स्थानीय अस्पताल, स्वास्थ्य चौकीमा पर्याप्त दक्ष चिकित्सक थप गरी पूर्ण क्षमतामा संचालन गर्न एवं स्वास्थकर्मीहरूको विदेश पलायत रोक्न विशेष कार्यक्रम ल्याउन पनि एमालेले माग गरेको छ ।
मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारी मोरङलाई विशेष प्राथमिकताका साथ स्तरोन्नति गर्न, स्वास्थ्यकर्मीहरूको समाधान गर्न समेत माग गरिएको छ ।
त्यसैगरी विराटनगरमा रहेको प्रदेश ल्याबलाई सर्वसुलभ तथा सवैको पहुँचयोग्य बनाउन, निःशुल्क औषधिहरू समयमै विना झन्झट विरामीहरूले प्राप्त गर्नुपर्ने पनि एमालेको माग छ ।
ध्यानाकर्षण पत्र बुझ्दै स्वास्थ्य मन्त्री भुपेन्द्र राईले कोशी प्रदेशमा अहिले कांग्रेस–एमालेको सरकार रहेकोले दुईवटा पार्टीले चाहँदा प्रदेशका धेरै काम अघि बढ्नसक्ने बताए ।
उनले सरकार कोशी प्रदेशका स्वास्थ्यकर्मीहरूको विषयलाई अलग्गै स्वास्थ्य ऐन ल्याएर सम्बोधन गर्ने तयारीमा रहेको पनि जानकारी दिए ।
‘स्वास्थ्य ऐन छुट्टै आउनुपर्छ भनेर सरकारले तयारी अघि बढाएको छ, त्यसका लागि कार्यदल बनाइएको छ’ मन्त्री राईले भने, ‘स्वास्थ्य विधेयकको मस्यौदाका क्रममा सरकारले एमालेसहित सवै सरोकारवालाहरूसँग छलफल गर्नेछ, पुसभित्र यसलाई टुंगो लगाइने छ ।’
उनले कोभिडको समयमा निर्माण गरिएको अस्पताललाई शैलजा आचार्य हृदय रोग केन्द्रका रुपमा सञ्चालन गर्न चाँडै काठमाडौंको गंगालाल हृदय रोग केन्द्रसँग सहकार्य गरिने जानकारी दिए ।
View : 300
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved