विराटनगर, १ पुस । नेकपा एमालेले गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको पुष्पलाल मध्यपहाडी लोकमार्गको समृद्धि यात्रा आइतबार पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिएको छ । १८ दिनमा १ हजार ८७९ किलोमिटर दुरीको यात्राको अन्तिम गन्तव्य चिवाभञ्ज्याङमा राष्ट्रिय झन्डाको झन्डोत्तोलन र सभा गर्दै सकिएको हो ।
यात्राको समापन कार्यक्रममा सहभागी हुन पाँचथर सदरमुकाम फिदिमबाट हेलिकोप्टर चढेर चिवाभञ्ज्याङ पुगेका ओलीले एमालेले अरुले सोच्नै नसक्ने खालका काम गरेर देखाउन सक्ने पार्टी भएको बताए । उनले विभिन्न किसिमका अवरोध पार गर्दै जनतालाई आशावादी बनाउन यात्रा सफल भएको दाबी गरे ।
ओलीले एमालेविरुद्ध भइरहेका अवाञ्छित चिन्तन, विचार, प्रवृत्ति र क्रियाकलापहरूलाई जवाफ दिएको पनि बताए । साथै देशलाई शिरमा राखेर राष्ट्रिय हितलाई सर्वोपरी राखेर एमाले अघि बढ्ने र त्यसका लागि एमालेको मनोबल उच्च बनाउन यात्रा सफल भएको दाबी गरे ।
‘यात्राले विभिन्न प्रकारका अवान्छित चिन्तनहरू, विचारहरू, प्रवृत्तिहरू र क्रियाकलापहरूलाई जवाफ दिएको हुनुपर्दछ । हतोत्साहित गरेको हुनुपर्दछ । एमाले अरुले सोच्न नसक्ने खालका कामहरू गर्न सक्छ भन्ने स्थापित भएको छ, यो यात्रा सफल भएको छ‚’ उनले भने, ‘देशलाई शिरमा राखेर, जनतालाई शिरमा राखेर, राष्ट्रिय हितलाई सर्वोपरि राखेर अघि बढ्न आम जनताको मनोबल उच्च भएको छ भन्ने विश्वास लिएका छौं ।’
उनले संकल्प यात्रा जोखिमसँग खेल्न र त्यसलाई पराजित गर्न सक्षम भएको दाबी गरे । उनले एमाले चुनौतीहरूको सामना गर्न सक्छ भन्ने पनि पुष्टि गरेको बताए ।
ओलीले यात्राका क्रममा सांस्कृतिक झाँकी र स्थानीय पहिरन लगायतका अनेक कुराहरू हेर्न पाइएको बताए । उनले समृद्धि यात्रा अत्यन्तै सफल भएको दाबी गरे । जनतामा फैलिएको राजनीतिक निराशा फैलिँदै गएको र त्यसको मुख्य कारण अहिलेको गठबन्धन रहेको बताए ।
एमालेको यात्राले एमालेलाई मात्रै नभई जनवर्गीय संगठनहरू र अरु पार्टीहरूलाई पनि सक्रिय हुनका लागि प्रभाव पारेको टिप्पणी गरे । यात्राले मध्यपहाडी क्षेत्रको समस्या र आवश्यकताबारे विभिन्न माध्यमबाट जानकारी प्राप्त भएको ओलीले बताए । ओलीले भने ‘राष्ट्रलाई ध्यानमा राखेर अघि बढ्ने कुरामा यो यात्राले सबैलाई प्रेरणा दिओस् ।’
एमालेले संकल्प यात्राका क्रममा मध्यपहाडी लोकमार्गले छुने २६ वटा जिल्ला र अन्य चार जिल्लासहित ३० वटा जिल्ला पुगेको जनाइएको छ । त्यस क्रममा एमालेले जनसभा, कार्यकर्ताबीच भेटघाट र संवाद गरेको हो ।
चिवाभञ्ज्याङको समापन सभामा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, महासचिव शंकर पोखरेल लगायत एमालेका केन्द्रीय नेताहरुको बाक्लो उपस्थिति थियो । ओली भने आइतबार नै हेलिकोप्टरबाट काठमाडौं फर्किएका छन् । नेता कार्यकर्ताहरू भने पाँचथर सदरमुकाम फिदिम फर्किएर बस्ने र सोमबार काठमाडौं लगायतका क्षेत्रमा फर्किने जनाइएको छ ।
View : 196
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved