विराटनगर । जेनजी आन्दोलनको रापतापले विघठित बनेको प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमाले विराटनगर महानगर कमिटीले छिमेकका केही पालिका कमिटीहरूसँगको सहकार्यमा मंगलबार विराटनगरमा मोटरसाइकल र्याली निकाल्ने भएको छ ।
महानगर कमिटीका अध्यक्ष बलराम गिरीले करीव एक हजार एक सय मोटरसाइकलसहित मंगलबार विहान ११ बजे पाञ्चालीबाट र्याली निकालिने पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
उनले जेनजी आन्दोलनकारीको माग सम्बोधन गर्न संविधान संशोधनबाट मात्रै हुने भएकाले त्यसका लागि संसद पुनर्स्थापना हुनुपर्ने बताए । सोही कारण एमालेले विघठित प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने माग अघि सारेको स्पष्ट पारे ।
मोटरसाइकल ¥यालीमा विराटनगर महानगर कमिटीको नेतृत्वमा जहदा, कटहरी, धनपालथान, ग्रामथान र बुढीगंगासहित जम्मा ६ वटा कमिटीबाट सयौंको संख्यामा सहभागी हुने अध्यक्ष गिरीले बताए ।
पाञ्चालीबाट सुरु हुने मोटरसाइकल र्याली पुष्पलाल चोकमा पुगेर कोण सभामा परिणत हुने जनाइएको छ ।
‘एमालेले जेनजीको मागलाई संविधानभित्रबाट सम्बोधन गर्नुपर्छ भनिरहेका छौं, त्यसका लागि संसद पुनर्स्थापना गर्नु नै सवैभन्दा उचित हुन्छ भन्ने धारणा छ’ गिरीले भने, ‘वर्तमान सरकारले अहिलेकै अवस्थामा चुनाव गराउने विश्वास गर्न सकिंदैन, त्यसका लागि दवावस्वरुप शान्तिपूर्ण रुपमा मोटरसाइकल र्याली प्रदर्शन हुनेछ ।’
एमाले केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इञ्चार्ज जीवन घिमिरेले संविधानलाई ट्र्याकमा ल्याउन आवश्यक रहेको बताए । त्यसको उपयुक्त बाटो संसद पुनस्र्थापना भएको जिकिर गरे । वर्तमान सरकारले चुनाव गराउने नियत नदेखाएको उनले आरोप लगाए ।
एक करोड बढीको क्षति
जेनजी आन्दोलनका क्रममा पाञ्चालीस्थित एमाले पार्टी कार्यालयमा भएको आगजनीबाट एक करोड बढीको क्षति पुगेको जनाइएको छ ।
केन्द्रीय सदस्य घिमिरेका अनुसार क्षतिको प्राविधिक अनुगमनपछि प्राप्त भएको प्रतिवेदन अनुसार एक करोड पाँच लाख रुपैयाँ बराबरको क्षति भएको हो ।
क्षति पुगेको पार्टी कार्यालय पुनर्निर्माणका लागि नेता कार्यकर्ताबाट स्रोतसाधन परिचालन गरिने जनाइएको छ ।
पार्टीका जनवर्गीय संगठन र विभिन्न तहका कमिटीको सक्रियतामा श्रमदान अभियान सञ्चालन गरिएको उनले बताए । पार्टी कार्यालय पुनर्निर्माणका लागि मंगलबारसम्म १८२ जनाले श्रमदान गरेका छन् ।
View : 307
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved