विराटनगर । पालिकाहरूमा प्रश्न बैंक बनाउने तयारी सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पालिकाहरूमा बन्ने प्रश्न पत्रलाई एकद्वारबाट लागू गर्न प्रश्नपत्र निर्माण तथा त्यसको स्तरकृत बनाई प्रश्न बैंक पालिकामा बनाउने अभियान सुरु गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले गाउँपालिका महासंघ र नेपाल नगरपालिका संघसँगको सहकार्यमा प्रश्न बैंक बनाई त्यसलाई कार्यान्वयन गर्न लागेको हो । त्यसका लागि बोर्डले कोशी प्रदेश स्तरीय तीन दिने स्तरकृत परीक्षाका लागि प्रश्न निर्माण सीप विकास सम्बन्ध प्रशिक्षक प्रशिक्षण सम्पन्न गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अब बन्ने प्रश्नपत्रहरू विद्यार्थीको ज्ञान पक्ष, बोध पक्ष, पढेका कुराको प्रयोग, विद्यार्थीको उच्च क्षमता र सिकाइ पक्षलाई ख्याल गरेर मूल्याङ्कन हुनुपर्ने बताए । एक पालिका र अर्को पालिकाको बीचमा बनाइने प्रश्नपत्रमा स्ट्याण्डर्ड कायम गर्नका लागि पनि यो प्रशिक्षक प्रशिक्षण महत्वपूर्ण हुने उनले बताए ।
राष्ट्रिय परीक्षा बोर्डले यो पटक ३५ जिल्लाका १०५ जना शिक्षकलाई स्तरकृत प्रश्नपत्र निर्माण सम्बन्धी तीन दिने प्रशिक्षण दिएको हो । अंग्रेजी, विज्ञान र गणित विषयको प्रश्नपत्र निर्माण सम्बन्धी तालिम लिएका शिक्षकहरूले फर्किएर पालिकाका अन्य विद्यालयलाई प्रश्नपत्र निर्माण सम्बन्धी तालिम दिनुपर्ने बोर्डले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माका अनुसार ७५३ स्थानीय तहहरूमध्ये यो वर्ष २५० वटा पालिकामा स्तरकृत प्रश्नपत्र निर्माण सम्बन्धी प्रशिक्षण पुग्ने छ ।
प्रशिक्षणको क्रममा राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव जंगबहादुर अर्यालले सो प्रशिक्षणपछि अब माध्यमिक तहको प्रश्नपत्र निर्माणमा पालिकाहरूको धबीचमा स्ट्यार्डड कायम हुनेमा आफू ढुक्क भएको बताए ।
View : 137
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved