विराटनगर । चारवर्षे कार्यकाल पूरा गरेर निवृत्त हुन लागेका पूर्वाञ्चल विश्वविद्यालय (पूवि)का उपकुलपति प्राडा यादवराज कोइरालाको विदाई गरिएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालयद्वारा सोमबार गोठगाउँमा आयोजित कार्यक्रममा उपकुलपति प्राडा कोइरालाको विदाई गरिएको हो । उपकुलपति कोइरालाको चारवर्षे कार्यकाल शुक्रबारदेखि समाप्त हुने भएकाले विदाई गरिएको विश्वविद्यालयले जनाएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै उपकुलपति प्राडा कोइरालाले विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको साथ–सहयोगले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताए ।
‘मैले पदीय जिम्मेवारीअनुसार उपकुलपतिको हैसियतले नेतृत्व गरेको गरेको हुँ’ उनले भने– ‘मेरो कार्यकाल सफल भए त्यसको सम्पूर्ण श्रेय विश्वविद्यालय परिवारलाई नै जान्छ ।’
आफूले जहिल्यै विश्वविद्यालयको सर्वोपरी हितलाई उच्च प्राथमिकतामा राखेर काम गरेको बताउँदै भविष्यमा समेत आइपरेको बखतमा निःस्वार्थ रूपले विश्वविद्यालयलाई सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता ब्यक्त गरे ।
आफूले शीर झुकाउने र विश्वविद्यालयलाई नकारात्मक प्रभाव पार्ने हिसाबले काम नगरेको दाबी गर्दै उनले भने– ‘मेरो कार्यकालमा भएका कामको जिम्मेवारी लिँदै यसको निष्पक्षरूपमा मूल्याङ्कन हुनेमा विश्वस्त छु ।’
विश्वविद्यालय परिवार एकढिक्का भएर यसको विकासमा लाग्नु पर्ने आवश्यकता औँल्याउँदै काम गर्ने क्रममा भएका कमी–कमजोरी र आइपर्ने जुनसुकै समस्यालाई आपसी छलफलबाटै हल गर्न सकिने मान्यताका साथ आफूले काम गरेको उनले स्पष्ट पारे ।
प्राध्यापक संघको विदाई कार्यक्रम बहिष्कार गर्ने निर्णयप्रति दुःख लागेको बताउँदै उनले प्राज्ञिक जगत्का यस्ता क्रियाकलापले विश्वविद्यालयको हित नगर्ने भएकोले सबैले सचेत हुनु जरूरी रहेको धारणा ब्यक्त गरे ।
आफ्नो कार्यकालमा भए, गरेका काम, कारवाहीको जवाफदेहिता लिन सदा तयार रहेको बताउँदै उनले भने– ‘मेरो कार्यकालमा भएका हरेक कामको जवाफ मसँग छ । कसैलाई कुनै गुनासो या जिज्ञासा भए मलाई भन्दा हुन्छ ।’
कार्यक्रममा सेवा आयोगका अध्यक्ष प्राडा महेशराज दाहालले उपकुलपति कोइरालाको कार्यकालमा विश्वविद्यालय सुधारको संरचनागत आधार तयार भएको बताउँदै नयाँ उपकुलपतिको टोलीले त्यसलाई अगाडि बढाउनु पर्ने धारणा राखे ।
‘उहाँको कार्यकाललाई समाजले पनि सकारात्मक मूल्याङ्कन गरेको पाएको छु’ उनले भने– ‘आगामी नेतृत्वले त्यसलाई निरन्तरता दिन सके विश्वविद्यालय अझै अग्रगतिमा जाने निश्चित छ ।’
विश्वविद्यालय रजिष्ट्रार नीलमणि पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा कला, कानून तथा शिक्षाशास्त्र संकायका डीन प्राडा अनिलकुमार पोखरेलले आर्थिक र प्राज्ञिक पारदर्शिताका कारण उपकुलपति कोइरालाको कार्यकाल सफल भएको बताए ।
‘करिब अढाई वर्षसँगै काम गरेको अनुभवका आधारमा आर्थिक र प्राज्ञिक दुवै क्षेत्रमा खोट लगाउने ठाउँ छैन’ उनले भने– ‘यस हिसाबले उहाँको कार्यकाल पूर्णरूपमा सफल रहेको मेरो मूल्याङ्कन छ ।’
त्यसैगरी पाठ्यक्रम विकास तथा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्राडा मेदिनीप्रसाद शर्मा र पूवि स्कूल अफ साइन्स एण्ड टेक्नोलोजीका निर्देशक नरेशकुमार साहले उपकुलपति कोइरालाको कार्यकालमा विश्वविद्यालय सुधारका लागि सकारात्मक कामको थालनी भएको बताउँदै आगामी दिनमा समेत सक्रियतापूर्वक प्राज्ञिक कार्यमा सफलताको शुभकामना ब्यक्त गरे ।
पूवि कर्मचारी संघ केन्द्रीय समितिका सभापति रूपेश बस्नेतले उपकुलपति कोइरालाको कार्यकालमा विश्वविद्यालयको प्राज्ञिक उचाई र गरिमा बढेको दाबी गर्दै भविष्यमा समेत निरन्तर रूपमा राय, सुझाव र साथ–सहयोग फाइरहने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा उपकुलपति कोइरालाले विश्वविद्यालयको ३०औँ वार्षिकोत्सवका अवसरमा पुरस्कृत हुने पदाधिकारी, शिक्षक र कर्मचारीहरूलाई उत्कृष्ट सेवा पदक प्रदान गरे । पुरस्कृत हुनेहरूमा पदाधिकारीतर्फ सह–परीक्षा नियन्त्रक मेनुका श्रेष्ठ, शिक्षकतर्फ सह–प्राध्यापक डा. धर्मेन्द्रकुमार सिहं तथा कर्मचारीतर्फ वरिष्ठ अधिकृत (कम्प्युटर) टेकप्रसाद अधिकारी तथा सवारी चालक प्रकाश भुजेल छन् ।
सह–नियन्त्रक श्रेष्ठ, सह–प्राध्यापक सिंह र वरिष्ठ अधिकृत अधिकारीलाई जनही ५१ हजार नगद राशि तथा सवारी चालक भुजेललाई खाईपाई आएको थप दुई ग्रेड सहित पाँच तोला चाँदीको तक्मासहित उत्कृष्ठ सेवा पदकद्वारा पुरस्कृत गरिएको विश्वविद्यालयले जनाएको छ ।
कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूले सामूहिक रूपमा सेवानिवृत्त जीवन अझै सक्रियत बनोस् भन्ने कामना सहित खादा, माला र अविर लगाएर उपकुलपति कोइरालाको विदाई गरेका थिए । त्यस्तै कला, कानून तथा शिक्षाशास्त्र संकाय, व्यवस्थापन संकाय, उपकुलपतिको कार्यालय लगायतका तर्फबाट समेत उपहारसहित उपकुलपति कोइरालाको विदाई गरिएको थियो ।
View : 597
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved