Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

लोहन्द्रा खोला नजिकै अवैध उत्खनन्, पक्राउ पर्दा पनि भएन कारवाही

उद्‌घोष सम्वाददाता
१० मंसिर २०८०, आइतवार

विराटनगर : मोरङको धनपालथान गाउँपालिका स्थित लोहान्द्रा खोला किनारमा अबैध उत्खनन् गर्ने उपकरण प्रहरीले नियन्त्रणमा लिएपनि बिना कारवाही छाडेको छ । नेपाल सरकारले तोकेको मापदण्ड बिपरित खोला किनारको जमिन उत्खनन् गरिएको स्थानीयले गुनासो गरेपछि प्रहरीले शुक्रबार माटो खन्ने उपकरण जेसीबी नियन्त्रणमा लिएको थियो ।

प्रहरी चौकी कर्सियाले उपकरण नियन्त्रणमा लिए पनि कारवाही गर्नु पर्ने निकाय पालिकालाई जिम्मा नदिई छाडेको थियो । यसरी गरिएको उत्खनन्ले वर्षायाममा वस्तीमा बाढी पस्ने जोखिम बढेको स्थानीयको भनाइ छ ।

लोहान्द्रा खोला पूर्वपट्टि किनारको ३० मिटरभित्रै मेसिन राखेर गहिरो खनेर ट्रिपरबाट माटो अन्यत्र लगिने गरेको पाएपछि स्थानीयले पालिका र प्रहरीलाई जानकारी गराएका थिए ।

पालिकाले यस्ता उपकरण र माटो ओसारपसार गर्ने साधनलाई १५ देखि ३५ हजार रुपैंयाँसम्म जरिवाना गर्न सक्ने अधिकार छ । तर, धनपालथानमा नियन्त्रणमा लिइएका उपकरण कारवाहीमा नल्याइए छाडिएको बारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउने तयारीमा गाउँपालिका छ । 

धनपालथानका सूचना अधिकारी ज्ञानेन्द्र सिंहले आइतबार प्रजिअलाई औपचारिक रुपमा जानकारी दिइने बताए । खोला किनारको दुई सय मिटर र पुलको पाँच सय मिटरसम्म माटो उत्खनन् गर्न पाइदैन ।

यसखाले प्राकृतिक समस्या आउने खालको अवस्था देखिए आफूहरुले समन्वय गरेर समाधानका लागि पहल गर्ने गरेको जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झाले बताइन् । उनले मापदण्ड बिपरित उत्खनन् गर्नेलाई कारवाही गर्ने अधिकार अब पालिकामै सीमित रहेको जानकारी दिइन् ।

प्रहरीले उपकरण नियन्त्रणमा लिएर छाडेको बारे मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले निजी जमिनमा चेनवाला मेसिनले खनेको पाइएपछि उत्खनन् बन्द गराइएको बताए । प्रहरी चौकीसम्म सो उपकरण लैजान नसकिने भएकाले सोही ठाउँमा काम बन्द गराएर छाडिएको उनले जानकारी दिए । 

मोरङका बिभिन्न खोलाका किनारमा अवैध उत्खनन् हुने गरेको जिल्ला समन्वय समितिमा गुनासो आउने गरेको छ । समितिका प्रमुख अजम्बर राईले प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, राजश्व प्रमुखलगायत सम्मिलित समितिले अनुगमनको तयारी गरेको बताए ।

View : 217

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved