विराटनगर । मोरङको पथरीशनिश्चरे– १ मा १५ वर्षीया बालिकाको विभत्स हत्या भएको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका– ६ सल्लेकी १५ वर्षीया ज्ञानमती थुलुङ राईको हत्या भएको मोरङ प्रहरीले जनाएको छ ।
पथरीशनिश्चरे नगरपालिका– ७ लामा टोलस्थित उनकै मामाको छोरा विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार पथरीशनिश्चरे– १ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत बालिकाले उनको दाजु विनोदले आफ्नै घरमा सञ्चालन गरेको सुम्निमा होटल नामको खाजा नास्ता पसल समेत सघाउँदै आएकी थिइन् ।
दाहालका अनुसार सुत्न जानुअघि शौचालय गएकी बालिकामाथि घरको कम्पाउन्डभित्रै पटक पटक धारिलो हतियार प्रहार भएको पाइएको छ ।
सोमबार राती करिव १०ः३० बजेतिर अपरिचित व्यक्तिले उनीमाथि धारिलो हतियार प्रहार गरेर विभत्स हत्या गरेको जनाइएको छ ।
‘बालिकामाथि पटक– पटक धारिलो हतियारले प्रहार गरेको देखिन्छ, घरको परिसरभित्रै शव भेटिएको छ’ प्रवक्ता दाहालले भने, ‘उनीमाथि पछाडिबाट हतियार प्रहार भएको जस्तो छ, प्रहरीले सूक्ष्म रुपमा अनुसन्धान अघि बढाइसकेको छ ।’
प्रहरीका अनुसार उनको घाँटी, अनुहार र पाखुरामा हतियारको चोट देखिएको जनाइएको छ । घटनास्थलमा प्रहरीले तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेर अनुसन्धान अघि बढाएको जनाएको छ ।
View : 481
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved