विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा जारी अन्तर हाउस फुटबल टुर्नामेन्टअन्तर्गत बुधबार सेमिफाइनलका खेलहरू सम्पन्न भएका छन् ।
कक्षा ६–७ र कक्षा ८–९ समूहका सेमिफाइनल खेलहरू सम्पन्न भएसँगै फाइनलका लागि प्रतिस्पर्धी टोलीहरूको टुंगो लागेको छ ।
कक्षा ६–७ समूहअन्तर्गतको पहिलो खेलमा कर्णाली हाउसलाई २–१ गोल अन्तरले पराजित गर्दै कोशी हाउस फाइनलमा प्रवेश गरेको छ ।
कोशीका तर्फबाट कक्षा ७ का सुमन पुरी र अनमोलराज लिम्बूले समान एक–एक गोल गरे । कर्णालीका लागि कक्षा ७ का रोजन आचार्यले एक गोल फर्काए पनि टोलीलाई जित दिलाउन पर्याप्त हुन सकेन ।
सोही समूहको अर्को सेमिफाइनल खेलमा मेची हाउसले टाईब्रेकरमा ३–१ गोल अन्तरले गण्डकी हाउसलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको छ ।
निर्धारित समयमा दुवै टोलीबीच बराबरी भएपछि खेलको निर्णय टाईब्रेकरमार्फत गरिएको थियो ।
त्यसैगरी कक्षा ८–९ समूहअन्तर्गतको खेलमा मेची हाउसले कोशी हाउसलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । मेचीका लागि कक्षा ९ का अनुश पुरी र कक्षा ८ का निगम घिमिरेले एक–एक गोल गरे ।
अर्को सेमिफाइनलमा गण्डकी हाउसले कर्णाली हाउसलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । गण्डकीका लागि कक्षा ८ का सामथ्र्य पाठक र आयुष चौधरीले गोल गरे ।
विद्यालयकी अतिरिक्त क्रियाकलाप इन्चार्ज सुधा डंगोलका अनुसार बिहीबार छात्रा खेलाडीहरूको समेत तीन वटा समूहका फाइनल खेलहरू आयोजना गरिने छन् ।
यसअघि हिजो कक्षा ३ देखि ५ सम्मका खेलाडीहरूबीच प्रतिस्पर्धा सम्पन्न भएको थियो ।
उक्त समूहमा कोशी हाउसले उपाधि जितेको छ । फाइनलमा कोशीले गण्डकी हाउसलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको हो ।
View : 59
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved