Biratnagar, Morang, Nepal
६ असार २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

जलविद्युत् इन्जिनियर विरेन्द्र श्रेष्ठ रास्वपाको केन्द्रीय सदस्यको दौडमा

उद्‌घोष संवाददाता
६ असार २०८३, शनिवार

Advertisement

विराटनगर । आधा दर्जन जलविद्युत आयोजना निर्माणको नेतृत्व गरिसकेका इन्जिनियर विरेन्द्र श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यको दौडमा उत्रिएका छन् ।

ताप्लेजुङको दुर्गम गाउँ सिरिजङ्घा–१ सिनाममा जन्मिएका श्रेष्ठ रास्वपा ताप्लेजुङको संस्थापक सभापति समेत हुन् । 

श्रेष्ठ रास्वपा कोशी प्रदेश समितिको सभापतिका समेत आकांक्षी थिए । अहिले उनले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका हुन् ।

जलविद्युत क्षेत्रको लामो अनुभव र योगदानसँगै राजनीति र गीत संगीत लेखन पनि सक्रिय रहेका श्रेष्ठले राष्ट्रियस्तरमै आफ्नो परिचय बनाएका छन् ।

२०८० जेठ ७ गते ताप्लेजुङमा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन निर्माण हुँदा श्रेष्ठले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । 

सोही कारण उनले २०८१ वैशाख २२ गते जिल्ला संयोजकको जिम्मेवारी पाएका थिए ।

२०८१ मंसिर २९ मा सम्पन्न जिल्ला भेलाले उनलाई जिल्ला सभापतिमा चयन गर्यो । 

२०८३ जेठमा उनले जिल्ला सभापतिबाट बिदाई लिएर नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेका छन् ।

श्रेष्ठले जिल्लाका विभिन्न स्थानीय तहमा संगठन विस्तार, वडा समिति गठन, पालिका समिति निर्माण र कार्यकर्ता भेटघाटमा सक्रिय भूमिका निर्वाह गरेको बताए ।

करिब २८ वर्षको जलविद्युत् अनुभव बोकेका श्रेष्ठले आफ्नो लक्ष्य ऊर्जा, कृषि, शिक्षा र ग्रामीण विकासलाई जोडेर समृद्ध नेपाल निर्माणमा योगदान गर्ने सोच अघि सारेका छन् ।

उनले चितवनको भरतपुरमा हुन लागेको रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यका रुपमा आफूलाई अघि सारेको जानकारी दिए । 

रास्वपाको राजनीतिभित्र आफुलाई नयाँ चरणमा प्रवेश गराउने प्रयासमा रहेको बताए । 

आइतबारदेखि सुरु हुने रास्वपाको राष्ट्रिय महाधिवेशनले आफ्नो राजनीतिक यात्राले नयाँ उचाइ लिनेमा विश्वस्त रहेको बताए ।

जलविद्युतको नेतृत्व तहसम्म

सामान्य पारिवारिक वातावरणमा हुर्किएका श्रेष्ठले प्रारम्भिक शिक्षा गाउँकै विद्यालयबाट सुरु गरेका थिए । ताप्लेजुङकै विभिन्न सामुदायिक विद्यालयमा पढेर काठमाडौं पुगेका श्रेष्ठले अमृत साइन्स क्याम्पसबाट आईएस्सी अध्ययन पूरा गरे । 

त्यसपछि तत्कालीन सोभियत संघ अन्तरगतको आर्मेनियाको युरेभान इन्जिनियरिङ विश्वविद्यालयबाट इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन इन्जिनियरिङमा स्नातक गरे । 

विश्वविद्यालयको अध्ययन सकेर फर्किएपछि नेपाल विद्युत प्राधिकरणमा सिस्टम इन्जिनियर पदबाट जलविद्युत क्षेत्रमा प्रवेश गरे ।

सन् १९९७ देखि करिब साढे पाँच वर्ष उनले विद्युत् प्राधिकरणको प्रणाली संचालन तथा व्यवस्थापन क्षेत्रमा काम गरेका थिए । 

भार प्रेषण केन्द्रमा सिस्टम इन्जिनियरको जिम्मेवारी सम्हाल्दै उनले नेपालको विद्युत् प्रणाली सञ्चालनको प्रत्यक्ष अनुभव हासिल गरे ।

त्यसपछि उनको यात्रा जलविद्युत् आयोजना निर्माण र सञ्चालनतर्फ मोडियो । 

राष्ट्रिय जलविद्युत् कम्पनी लिमिटेडमा आयोजनामा सञ्चालन तथा मर्मत बरिष्ठ इन्जिनियरका रूपमा काम गरे । सोही अवधिमा उनी कम्पनीको डेपुटी जनरल म्यानेजर बने । 

निर्माण व्यवस्थापन, आयोजना सञ्चालन, जनसम्पर्क तथा प्राविधिक व्यवस्थापनमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरे ।

श्रेष्ठले निजी क्षेत्रको ऊर्जा विकासमा पनि नेतृत्वदायी भूमिका खेले । सन् २०११ मा उनले सेन्चुरी इनर्जी प्रालिमा प्रमुख विकासकर्ता हुँदै प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाले । 

उनकै नेतृत्वमा सिन्धुपाल्चोकमा ९९७ किलोवाट क्षमताको जलविद्युत् आयोजना सम्पन्न भएको थियो ।

त्यसपछि रुरु हाइड्रो परियोजनामा आयोजना निर्देशकका रूपमा काम गरे । ताप्लेजुङमै रहेको सिवानी हाइड्रो पावर कम्पनीमा परियोजना प्रमुख भएर काम गर्दै उनले ५ मेगावाटको पहिलो ग्रिड जडित जलविद्युत् आयोजना सम्पन्न गराए ।

श्रेष्ठले नेपालको जलविद्युत क्षेत्रमा आफ्नो योगदान निरन्तर जारी राखे । उनले करिअरकै महत्वपूर्ण चरण भने कावेली ‘ए’ जलविद्युत् आयोजनासँग जोडियो । 

विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगमको लगानी तथा बुटवल पावर कम्पनी र र पूर्वाधार विकास बैंक (इन्फ्रा) स्वामित्व रहेको कावेली ‘ए’ आयोजनाको परियोजना प्रमुखका रूपमा काम गरे ।

इन्जिनियर श्रेष्ठले युनिटेक हाइड्रो पावर कम्पनीको पनि परियोजना प्रमुखका रूपमा काम गरे । यसरी जलविद्युत क्षेत्रमा प्रत्यक्ष जिम्मेवारीबाहेक पनि इन्जिनियर श्रेष्ठले नेपालका तीन दर्जनभन्दा बढी जलविद्युत् आयोजनामा स्वतन्त्र विज्ञका रूपमा आफ्नो अनुभव प्रस्तुत गरेका छन् । 

ट्रान्सफर्मर, जेनेरेटर, टर्बाइन, गभर्नर, एभीआरलगायत उपकरण परीक्षण तथा आयोजना कमिसनिङमा समेत आफुले लामो अनुभवयुक्त संलग्नता पुरा गरेको बताए ।

नेपालको जलविद्युत् आयोजनाको निर्माण र सञ्चालनमा प्रत्यक्ष नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका गर्दै आयोजना सम्पन्न गराएका थिए ।

प्रजातान्त्रिक आन्दोलनदेखि सक्रिय राजनीतिसम्म

प्राविधिक क्षेत्रमा सफल यात्रा तय गरेका श्रेष्ठ राजनीतिक रूपमा पनि लामो समयदेखि सक्रिय छन् । २०४७ सालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएर दुईपटक प्रहरी हिरासतमा परेको अनुभव उनले सुनाए । 

तत्कालिन अवस्थामा नेपाली कांग्रेसबाट औपचारिक राजनीतिक यात्रा सुरु गरेका इन्जियिनर श्रेष्ठ कांग्रेसको १३औँ महाधिवेशनपछि ताप्लेजुङ जिल्ला कार्यसमितिको मनोनीत सदस्य चुनिए । १४औँ महाधिवेशनमा पनि उनी महाधिवेशन प्रतिनिधि थिए ।

ताप्लेजुङलाई जलविद्युत्, पर्यटन, कृषि र शिक्षामार्फत विकासको मुल प्रवाहमा डोहो¥याउन सक्रिय रहेका श्रेष्ठले तमोर, घुन्सा, सिम्बुवा, मेवा, माइवा, सिवा, यालुङ, पलुङ, काबेली, फावालगायत नदीबाट जलविद्युत् विकास गर्ने, कञ्चनजंघा, पाथीभरा, ओलाङचुङगोला लगायत क्षेत्रको पर्यटन विकास गर्ने र अलैंची तथा जैविक कृषि उत्पादनको विस्तार र उच्च पहाडी क्षेत्र लक्षित प्राविधिक शिक्षाको विकासलाई प्राथमिकता राखेको बताए ।

संगीतमा पनि ‘ट्रेन्डिङ’

इन्जिनियर श्रेष्ठ केवल प्राविधिक र राजनीतिक क्षेत्रमा मात्र सीमित रहेनन् । उनी समसामयिक गीत संगीत लेखनमा सक्रिय छन् । 

राजनीतिक विकृति, सामाजिक समस्या र विकासका विषयमा पनि उनले कलम चलाउँदै आएका छन् ।

नेपाली संगीत क्षेत्रमा गायकका रूपमा पनि चिनिएका श्रेष्ठले करिब चार दर्जन गीतमा स्वर दिइसकेका छन् । 

‘ताप्लेजुङको शिरैमा’, ‘जाले रुमाल’, ‘आउन माया’, ‘घुम्न जाऔँ ओलाङचुङगोला’, ‘पिरिमको बाढी’ लगायत गीतमार्फत उनले ताप्लेजुङको संस्कृति र पहिचानलाई जोड्ने प्रयास गरेका छन् । 
जसमध्ये जाले रुमाल गीत ट्रेन्डिङ दोस्रो भएको समेत उनी बताउँछन् ।

View : 48

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved