Biratnagar, Morang, Nepal
२८ फागुन २०८१, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

जागरण अभियानमा देखिएको प्रचण्ड–जनार्दन टकराव

०८४ मा पहिलो पार्टी बनाउने आत्मविश्वाससहित अघि बढेको बताउने प्रचण्डलाई विगतका विभाजनले तर्साउन नछाडेको उनको अभिव्यक्तिबाटै बुझिन्छ ।
उद्‌घोष सम्वाददाता
१५ फागुन २०८१, बिहिवार

विराटनगर । तराई मधेश जागरण अभियानका क्रममा झापा र मोरङमा तीन दिन बिताइसकेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू उत्साही बनेको बताइरहेका छन् । तर, अभियानको मञ्चमा भाषण गर्दा होस् अथवा पत्रकार सम्मेलनमा नै किन नहोस् अध्यक्ष दाहालमा पार्टीभित्रको असन्तोषलाई लिएर गहिरो असुरक्षाभाव देखिएको छ । आफ्नै अभिव्यक्तिमार्फत उनले यो भाव प्रकट गरिरहेका छन् । 

लागेको कुरा नलुकाइ भन्ने प्रचण्डको पुरानै बानी हो । यही व्यक्तिगत स्वभाव अनुसार उनले बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा २०८४ सम्म पार्टीभित्र विग्रह आउला कि भन्ने त्रास प्रकट गरिहाले । तर, तत्कालै सच्याउँदै त्यस्तो अवस्था नआउने दाबी पनि गरे । 

झापामा एक दिन अनि मोरङमा दुई दिन अभियानमा सामेल भएर बुधबार बिहान पत्रकारहरु माझ प्रस्तुत भएका प्रचण्डले २०८४ को निर्वाचनमार्फत माओवादी सबैभन्दा ठूलो पार्टी बनेर उदाउने दाबी गरे । 

गएको मंसिरमा सम्पन्न स्थानीय तहको उपनिर्वाचनको नतिजा र अहिले अभियानमा जनताले माओवादीप्रति देखाएको लगावले आफूले यस्तो दाबी गरिरहेको प्रचण्डको जिकिर थियो । 

‘यही उपनिर्वाचनमा कांग्रेस र एमाले दुईटैलाई हामीले जित्यौं नि’, प्रचण्डको दाबी थियो ‘२०६४ मा हामी ठूलो भएका थियौं । विभाजन भयो, झगडा भयो, तगडा भयो, ७० मा अर्का आए । यहाँ कहाँ स्थिरता छ र, माओवादी फेरि नआउने भन्ने छ ?’ उनले थपे ‘यो पटक माओवादीलाई जिताएर मात्रै यो देशमा स्थायित्व पनि हुन्छ, सुशासन पनि हुन्छ भन्ने कुरा जनताले बुझिसकेका छन् ।  हेर्नुहोला, तपाईंहरुकै आँखा अगाडि अहिलेको लहर देखिया छ नि, यो लहर हाम्ले बचाउन सक्यौं भने, अब हामीभित्रै समस्या भयो भने त एउटा कुरा हो । तर, त्यो समस्या हुनेवाला पनि छैन । यो लहर हामीले लिएर (अगाडि) जाँदा हामी एक नम्बर पार्टी हुन्छौं भन्ने कन्फिडेन्सका साथ हिंडेका छौं ।’

०८४ मा पहिलो पार्टी बनाउने आत्मविश्वाससहित अघि बढेको बताउने प्रचण्डलाई विगतका विभाजनले तर्साउन नछाडेको उनको अभिव्यक्तिबाटै बुझिन्छ । त्यसैले उनले खुस्काइहाले ‘अब हामीभित्रै समस्या भयो भने त एउटा कुरा हो ।’ तर, बोलेका कुरा बोलेरै सच्याइहाल्न माहिर नेता उनले तत्कालै सच्याइ पनि हाले ‘तर, त्यो समस्या हुनेवाला पनि छैन ।’

माओवादी नेताहरुका अनुसार पछिल्लो समय प्रचण्ड उपमहासचिव जनार्दन शर्मासँग धेरै नै संशकित छन् । विगतमा फरक मत राख्ने जति सबैजसो नेताहरु पार्टी फुटाउँदै हिड्दै गरेका कारण त्यो तितो अनुभवले अहिले पनि त्रस्त पार्ने गरेको माओवादी नेताहरु बताउँछन् । 

उनीहरुले भने झैं जनार्दन शर्मा लामो समयदेखि प्रचण्डलाई चुनौती दिने माओवादीभित्रका एक मात्र शीर्ष नेता हुन् । गएको पुसमा सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकमा जनार्दनले  अध्यक्ष  प्रचण्डले पनि निर्वाचनबाट चुनिने आँट देखाउनुपर्ने भन्दै हाँक दिएका थिए । 

केन्द्रीय कमिटी बैठकमा जनार्दनले भनेका थिए ‘हाम्रो पार्टी अध्यक्ष कमरेड प्रचण्डले ३५ वर्षदेखि पार्टीको नेतृत्व गर्दै आउनु भयो । महाधिवेशनबाट नेतृत्व चुन्ने विधिमा जाऔं, उहाँले पनि चुनिएर अध्यक्ष हुने मौका पाउनु हुन्छ ।’ 

केन्द्रीय बैठकमा मात्रै होइन, पार्टीका बहुसंख्यक मञ्चहरुमा जनार्दनले प्रचण्डप्रतिको असन्तोष निर्धक्क राख्दै आएका छन् । त्यही  शैलीमा झापामा पनि उनले ‘नेतृत्वको रुपान्तरण जरुरी रहेको’ विषयमा जोड दिएका थिए । उनले झापामा भनेका थिए ‘माओवादी नेतृत्वको यो टिमले आफूले आफैंलाई रूपान्तरण गर्नुपर्छ,  बदल्नुछ । बदल्न सक्ने होइन भने जनताको आवाजको नेतृत्व माओवादी केन्द्रले गर्न सक्दैन ।’

जनार्दनले बोलेको केहीबेर पछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले  बोल्दाबोल्दै रिसाएर माइक छाडेका थिए । प्रचण्डलाई उनीहरु दुई जनाको विषयमा प्रष्टीकरण दिन असहज भएको प्रष्ट देखिन्थ्यो । 

त्यहीबेला प्रचण्डले भनेका थिए ‘खासमा कार्यक्रममा सबैले बोल्ने सेड्युल थिएन । तर, पदाधिकारी सबैले बोल्दा पार्टीका तर्फबाट राम्रो सन्देश जाने भएरै सबैलाई बोल्न दिउँ भनेर मैले नै भनेको हुँ । पार्टीमा अहिले केही समस्या छैन ।’ यही कुरा प्रचण्डले झापाकै अरु कार्यक्रममा र मोरङमा पनि लगातार भनिरहेका छन् ।  

जागरण अभियानले आफूलाई र पार्टीलाई ज्यादै उत्साही तुल्याएको दाबी गरिरहेका प्रचण्ड किन बारम्बार पार्टीभित्रको समस्याबारे आमसभाहरुमै प्रष्टीकरण दिइरहेका छन् ? के उनी पार्टीभित्र कुनै ‘थ्रेट’ महसुस गरिरहेको अवस्थामा हुन् ।

माओवादी केन्द्रीय कमिटी सदस्यसमेत रहेका कोशी संसदीय दलका नेता इन्द्र आङ्बो पछिल्लो केन्द्रीय कमिटी बैठकपछि पार्टीभित्र फरक मतले सम्मानपूर्वक स्थान पाउने संस्कार बसेको र सोही अनुसार बहस चलिरहेको तर त्यसलाई अरुले गलत बुझेको दाबी गर्छन् । 

‘गएको केन्द्रीय समितिभन्दा अगाडिसम्म कमरेड जनार्दन शर्माले मूल नेतृत्वको प्रश्नमा हैन, विचार, कार्यदिशाका प्रश्नमा होइन, तर कार्यशैली, विधि प्रक्रिया र पार्टीभित्रको लोकतान्त्रिककरणको हिसाबले फरक प्रस्ताव लेख्नुभयो । त्यसपछि यसबारे सातै प्रदेशमा छलफल पनि भयो’, उनले भने ‘यी सबै कुरालाई लिएर केन्द्रीय समितिमा पार्टीको लोकतान्त्रिकरणको कुरा, विधि पद्धतिको कुरा लिएर अनुशासन र पारदर्शितासहित रुपान्तरणको कुरा ठीक हो र अब  सेन्टर टु लेफ्ट कार्यदिशा अवलम्बन गरियो  भनेर अध्यक्षले नै भनिसक्नुभएको छ । मूल नेतृत्व र कार्यदिशा र विचारमा कहिँ विमति होइन । हाम्रो पहिलो नेता प्रचण्ड नै हो । पार्टी एकै ठाउँमा छ । तर, ती उठाएका प्रश्नहरु डकुमेन्टमा आए पनि कार्यान्वयनमा गएको छैन । पार्टी व्यक्तिले होइन, विधि र प्रणालीका आधारमा चल्नुपर्याे  भन्ने विषयमा बहस हुँदै जान्छ । यही बहसले बाहिर तरङ्ग ल्याउँछ, अरु केही होइन ।’

उनका अनुसार माओवादीमा फरक मत राख्नेले पार्टी फुटाइहाल्छन् भन्ने र फरक मत राख्ने बित्तिकै दमन हुन्छ भन्ने भाष्य स्थापित रहेको छ । 

‘पछिल्लो केन्द्रीय समितिपछि फरक मतको सम्मान हुन्छ भन्ने संस्कारको विकास भएको छ’, उनले दाबी गरे ‘त्यसैले अहिले  बाहिर तरङ्ग भएको मात्रै हो ।  भित्र केही समस्या छैन ।’ 

हुन पनि झापाबाट सोमबार सुरु भएको ‘जनतास“ग माओवादी, तराई मधेश जागरण अभियान’ नामक हुलाकी राजमार्ग केन्द्रित कार्यक्रमका लागि माओवादीले मुख्यतः पाँच वटा लक्ष्य निर्धारण गरेको बताइरहेको छ । प्रष्टतः पाँच वटा राजनीतिक लक्ष्य तय गरेर अभियान चलाइरहेका अध्यक्ष प्रचण्डको ऊर्जा भने ‘अहिले पार्टीभित्र कुनै समस्या नरहेको’ प्रष्टीकरण पेश गर्नमै बढ्ता खर्च भइरहेको देखिन्छ ।  

पहिलो दिन झापाका विभिन्न ठाउँमा कार्यक्रम गरेर अघि बढेको अभियानले मोरङमा पनि दुई दिन बिताइसकेको छ । अध्यक्ष प्रचण्डसहितका सबै शीर्ष नेता अभियानमा सहभागी छन् । अभियानको तेस्रो दिन पूरा हुँदै गर्दा अभियानको घोषित लक्ष्यबारे भन्दा ‘पार्टीका नेताहरुबीच कुनै समस्या नरहेको’ प्रष्टीकरण प्रचण्डले धेरैपटक दोहोर्याइसकेका छन् । 

हुलाकी राजमार्ग केन्द्रित अभियानका लागि माओवादीले निर्धारण गरेका पाँच प्रमुख लक्ष्यहरु भने राष्ट्रिय राजनीतिका मुद्दासँग सम्बद्ध छन् ।   

मुलुकको राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको नीति कार्यक्रमलाई जनस्तरसम्म पु¥याउने, पार्टीलाई जनतास“ग जीवन्त रूपमा जोड्ने, पार्टी संगठनलाई स्थानीयस्तरसम्म विस्तार गर्ने, जनताबाट सुझावहरू संकलन गर्ने, जनता र पार्टी नेतृत्वबीच सम्बन्ध विस्तार गर्ने माओवादी अभियानका मुख्य लक्ष्यहरु हुन् । 

यस्तो लक्ष्य हुँदाहुँदै पनि झापा र मोरङका धेरैजसो कार्यक्रममा प्रचण्डले नछुटाइ जोड दिएको विषय भने ‘पार्टीभित्र समस्या नभएको’ भन्ने नै रहेको छ । पत्रकार सम्मेलनमा उनले अभियानले आफूलाई उत्साही तुल्याएको बताउन भुलेनन् । 

‘यो तीन दिन निकै नै उत्साहवद्र्धक रह्यो’, प्रचण्डले भने ‘झापा र मोरङमा अलिकति झल्को मैले ०६४ कै पाएको छु ।’ २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा माओवादीले झापा र मोरङमा मात्रै नभई देशैभरी अनपेक्षित चुनावी सफलता हात पारेको थियो ।

अभियानले उत्साही छु पनि भन्नुहुन्छ अर्कातिर भएभरको ऊर्जा चाहि पार्टीभित्र कुनै समस्या नरहेको भन्ने प्रष्टीकरणमा खर्चिरहनुभएको छ नि ? भन्ने प्रश्नमा  प्रचण्डले प्रश्नलाई ठाडै नकारे ।  अनि  भने ‘त्यस्तो होइन ।

एक दुई ठाउँ मैले त्यसो भनेकै हो । तर, पूरै ऊर्जा लगाएको चाहिं होइन । त्यो सत्य होइन ।’ 

औपचारिक रुपमा प्रचण्डले यो विषय अस्वीकार गरे पनि उनीसँगै अभियानमा हिंडिरहेका नेताहरुलाई नै लागिरहेको छ, उनले यही विषयमा धेरै जोडबल लगाइरहेका छन् ।

View : 153

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved