Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

एमाले प्रदेश बैठक : विद्याका पक्षमा उभिएकालाई बोल्नै बन्देज

प्रमुख अतिथिको रूपमा बैठकमा पुगेका एमाले महासचिव शंकर पोखरेललाई भेट्न भोजपुर जिल्लाबाट ठुलो संख्यामा कार्यकर्ताहरू धनकुटाको हिले पुगेका थिए ।  उनीहरूले जिल्लावासी भण्डारीलाई किन पार्टी सदस्यता नदिइएको भनेर प्रश्न गर्ने तयारी गरिरहँदा पोखरेलले भेटै नदिई हिंडेको जानकारी दिएका छन् ।
उद्‌घोष संवाददाता
२९ साउन २०८२, बिहिवार

Advertisement

विराटनगर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताबारे बोल्ने वक्ताहरू धेरै भएपछि एमाले कोशी प्रदेश कमिटीको बैठकमा धेरैले बोल्ने अवसर नै गुमाएका छन् । भण्डारीको सदस्यता नै नवीकरण रोकिदिएको एमाले संस्थापनले प्रदेश बैठकमा नाम टिपाएका सदस्यलाई बोल्नै नदिइ बैठक अन्त्य गरेको छ । 

मंगलबार धनकुटामा सुरू भएको प्रदेश कमिटी बैठकको पहिलो दिन पाँच जना नेताहरूले विद्या भण्डारीको सदस्यता रोकेर पार्टीले गल्ती गरेको बताएका थिए । 

‘पहिले उहाँको निवेदन स्वीकारेर पछि सदस्यता नदिने कुराले पूर्वराष्ट्रपति भइसकेको हाम्रो पार्टीको नेताको अपमान गरियो र केन्द्रीय नेतृत्वले संकीर्ण निर्णय लियो यसमा आपत्ति छ भनेर आफ्नो धारणा राखेको हुँ’ सुनसरीकी प्रदेशसभा सदस्य अञ्जु पाण्डेले भनिन् ‘बुधबार पनि बोल्नेहरू थिए तर नाम काटेर एकैचोटी ठूला नेताहरू बोल्न थाले ।’ 

नेता रोशन बस्नेतले संगठित सदस्यता भएको ४५ वर्षमा एमालले विद्या भण्डारीलाई अपमान गरेको तर्क गरे । उनले भण्डारीलाई जिम्मेवारी दिंदै पार्टीमा स्वागत गर्नुपर्नेमा निर्णय गरेरै रोकिंदा राम्रो सन्देश नदिएको बताएका थिए । 

अर्का प्रदेश कोशी सदस्य मकर खड्काले पार्टीको निर्णय मान्नैपर्ने बाध्यता भए पनि संगठनका कतिपय निर्णय सच्याएर जानुपर्ने धारणा राखे । 

प्रदेश इञ्चार्ज शेरधन राईले पार्टीको निर्णयको बचाउ गर्दै कार्यकर्तामा एकजुट भएर अघि बढ्न निर्देशन दिएका थिए । त्यस्तै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राजनीतिमा सम्बन्धहरू परिवर्तन हुँदै जाने तर्क गरेका थिए । 

प्रमुख अतिथिको रूपमा बैठकमा पुगेका एमाले महासचिव शंकर पोखरेललाई भेट्न भोजपुर जिल्लाबाट ठुलो संख्यामा कार्यकर्ताहरू धनकुटाको हिले पुगेका थिए । 

उनीहरूले जिल्लावासी भण्डारीलाई किन पार्टी सदस्यता नदिइएको भनेर प्रश्न गर्ने तयारी गरिरहँदा पोखरेलले भेटै नदिई हिंडेको जानकारी दिएका छन् ।

View : 784

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved