Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

कोशीमा भीम रावलले दिएको सन्देश : ‘तत्कालै पार्टी खोल्दिन’

उद्‌घोष सम्वाददाता
२२ पुष २०८१, सोमवार

विराटनगर । नेकपा एमालेबाट निकालिए लगत्तै ‘नयाँ दल’ खोल्ने हल्ला फैलाएका नेता भीम रावलले तत्कालै पार्टी खोल्ने तयारी नभएको सन्देश कोशी प्रदेशमा आएर दिएका छन् । शनिबार विराटनगर आएर आइतबार साँझसम्म भेटघाट र छलफलमा व्यस्त बनेका नेता रावलले कोशीका पूर्व मुख्यमन्त्री राजेन्द्र राईसँगको भेटमा भनेका छन् ‘म अहिल्यै नयाँ दल खोलिहाल्ने पक्षमा छैन । मातृभूमि जागरण अभियानमार्फत नेताहरुले गरेको राष्ट्रघातबारे भण्डाफोर अभियान चलाउँछु ।’ 

आफूबाहेक अरु सबैलाई राष्ट्रघाती देख्ने पुरानो वाम स्कुलिङका उत्पादन नेता रावलले कोशीका मोरङ र सुनसरीमा दुई दिनमा जे जति भेटघाट गरे, सबैलाई नेताहरुले ‘राष्ट्रघात गरेको’ भन्न छुटाएनन् । अरुभन्दा धेरै ‘राष्ट्रवादी’ देखिने लोभमा परेकै कारण  हरेकजसो वैदेशिक मामिलालाई ‘राष्ट्रिय स्वाभिमान’ सँंग लगेर जोडिहाल्ने रावलले आफ्नो नारा वामपन्थी कार्यकर्तादेखि राजावादीहरुसम्मलाई सुनाउन भ्याए । 

मुलुककै सबैभन्दा ठूलो वाम दल, जसको स्थापनामा रावलले पनि योगदान गरेका छन्, एमालेबाट निकालिएपछि मातृभूमि जागरण अभियानको थालनी गरेका उनी कोशीबाट उत्साही भएर फर्केको उनका सहयोगीहरुले बताएका छन् । 

लामो समयदेखि राजनीतिक जिम्मेवारीमा रहेका, विद्यावारिधिको उपाधि हासिल गरिसकेका र राजकीय मामिलाका पनि अनुभवी रावल वैदेशिक मामिलामा भने सधैं उग्र सुनिन्छन् । यस्तो मामिलामा सधैंजसो उत्तेजक अभिव्यक्ति दिने उनले कोशीमा गरेको भेटघाटमा पनि उही शैली दोहो¥याए ।

उनको साथैमा हिंडेका सहयोगीहरुले दिएको जानकारी अनुसार मोरङ र सुनसरीमा उनले गरेका हरेक भेटमा ‘मुलुकको बागडोर सम्हालेका नेताहरु विदेशी सामु झुकेको, तिनका दलाल बनेको, राष्ट्रघात गरेको’ जस्ता विषयलाई उनले प्राथमिकतापूर्वक उठाएका थिए । 

यसै पनि दल र तिनका शीर्ष नेताले ‘देश विदेशीको पोल्टामा पुर्याएको’ भन्ने भाष्य मनपराउने समूहका लागि रावल पहिल्यैदेखिका ‘रोल मोडल’ हुन् । त्यसैले उनको धेरैजसो भेट पनि  दलहरुबाट विरक्तिएर बसेका कार्यकर्ताहरुसँगै भयो । दलहरुबाट भन्दा दुर्गा प्रसाईंले देश बनाउँछन् भन्ने विश्वास पालेर उनको अभियानमा लागेकाहरुले पनि रावललाई प्राथमिकतासाथ भेटे । रावलकै अघि राजावादी नारासमेत घन्काए । 

यो दुई दिनमा रावलले आफ्नै पूर्व दल एमालेदेखि माओवादी, राप्रपा र रास्वपाका केही मान्छेहरुसँग पनि भेट गरेको उनी कोशीबाट उत्साही बनेर फर्किएको उनका सहयोगी झापाका डम्बर गिरीले दाबी गरे । 

‘योजना बनाएर भन्दा पनि स्वस्फूर्त रुपमा सबैथरी मान्छेसँग भेट भयो’, एमाले, एकीकृत समाजवादी, रास्वपा हुँदै अहिले रावलको अभियानमा जोडिन पुगेका गिरीले भने ‘सबैजसोले उहाँलाई नयाँ दल खोल्न सुझाव दिएका छन् ।’ 

‘व्यक्तिगत र सामूहिक गरी १२ सय भन्दा बढी मानिसहरुसँग उहाँको भेट भयो’, झापा हल्दिबारी गाउँपालिकाका पूर्व उपाध्यक्षसमेत रहेका गिरीले भने ‘त्यसक्रममा सबैले उहाँको राष्ट्रवादी छविले लोभिएको, उहाँ मात्रै राष्ट्रप्रति इमान्दार देखिएको बताएका थिए । त्यसैले भीम दाइ पूर्वबाट उत्साही भएर फर्कनुभएको छ ।’ 

रावलले कोशीमा अपेक्षाभन्दा आफूले बढी नै रेस्पोन्स पाएको बताएको गिरीले जानकारी दिए । 

‘पश्चिम नेपालमा मेरो राम्रै छ, पूर्वमा पनि यत्तिको रेस्पोन्स आउला भन्ने थिएन, तर राम्रो भयो’, रावलले आफ्ना सहयोगीहरुलाई भनेका थिए ‘म उत्साही भएर काठमाडौं फर्कदैछु ।’ उनले आफ्ना सहयोगीहरुलाई मातृभूमि जागरण अभियानमार्फत सबैलाई जोडेर नयाँ दल खोल्ने सन्देश दिएका छन् । 

यद्यपि राजनीतिक दलका नेताहरुसँगको भेटमा भने उनले आफू तत्कालै नयाँ पार्टी खोल्ने भन्दा पनि जागरण अभियानमार्फत ‘नेताहरुले गरेको राष्ट्रघातको भण्डाफोर’ मा लाग्ने बताएका छन् ।

कोशी प्रदेशमा दुई दिन बस्दा रावलले भेटेका सबैभन्दा हाइप्रोफाइल नेता हुन् कोशीका पूर्व मुख्यमन्त्री राजेन्द्र राई । नेकपा एकीकृत समाजवादीका उपमहामसचिवसमेत रहेका राईसँग रावलले आइतबार धरानमा एक घन्टाभन्दा बढी कुराकानी गरेका थिए । 

‘मैले सदनदेखि सार्वजनिक मञ्चसम्म केपी ओलीहरुको राष्ट्रघातबारे जे जति बोल्ने, लेख्ने काम गरेको छु, त्यो अरु कसले गरेको छ भनेर उहाँले सोध्नुभयो’, राईले भने ‘म तत्कालै पार्टी नखोले पनि यही नेताहरुले गरेको राष्ट्रघातको भन्डाफोर गर्र्न लागिरहन्छु भन्ने उहाँको कुरा थियो ।’

रावलले आफूलाई एमालेले निकालेपछि एमालेदेखि अरु धेरै दलका कार्यकर्ताहरुले सोधिरहेको, भेटिरहेको बताउँदै राईसँग भनेका थिए ‘तपाईंहरुकै दलका मान्छे पनि मसँग सम्पर्कमै छन् । तर, तपाईंहरुको पार्टीमा सक्रियलाई म अहिले चलाउदिन । एमालेतिर वा अरुतिर जान खोजेकाहरुलाई म मेरो अभियानमा जोड्छु । तपाईंहरुको सहयोग चाहियो भन्ने उहाँको कुरा थियो ।’

आइतबार काठमाडौं फर्किएका रावललाई विराटनगरमा स्वागत गर्नेदेखि भेटघाटको चाँजोपाँजो मिलाउन एकीकृत समाजवादीकै नेताहरु खटिएका थिए । केन्द्रीय सदस्य वसिम आलमले आफूले राजनीतिक रुपमा भन्दा पनि व्यक्तिगत सम्बन्धका आधारमा रावललाई स्वागत र सहयोग गरेको बताए ।

View : 103

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved