Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

५० हजार भारू कस्ले पार्यो झ्वाम ?

उद्‌घोष संवाददाता
२० माघ २०८२, मङ्गलवार

विराटनगर । भारतीय सीमावर्ती क्षेत्र विराटनगरको रानी प्रहरीको नियन्त्रणमा रहेका एक भारतीयलाई छुटाउन ५० हजार भारू (नेपाली ८० हजार) रूपैयाँ लिइएको पाइएको छ ।

पक्राउ परेका मानिस छुटाउन भारू ५० हजार लिइए पनि सो रकम प्रहरीले लियो वा बिचौलियाले भन्ने खुल्न सकेको छैन ।

गएको शनिबार विराटनगर भन्सार नजिकैबाट भारतीय रूपैयाँ एकलाख ७७ हजार (नेपाली २ लाख ८३ हजार) सहित पक्राउ परेका भारत अररिया फारबिसगञ्ज–४ ढोलबजा निवासी ३८ वर्षीय श्यामकुमार साहलाई छुटाउन यतिका रकम लिइएको बताइएको छ ।

भारतीय मानिसका आफन्तसँग रकम दिएपछि पक्राउ परेका मानिस छुट्ने भनिएको थियो । त्यसपछि प्रहरीले साहलाई छाडेको थियो ।

भारतीय पक्षले रकम कसलाई दिएको भनेर खुलाउन सकेको छैन भने प्रहरीले सो रकम लिएकोबारे अनभिज्ञता जनाएको छ ।

इलाका प्रहरी कार्यालय रानीका निरीक्षक कविन राईले ब्यवहारिकता हेरेर छाडिएको बताए । घूस रकम लिएको बारे आफूलाई थाहा नभएको उनको भनाइ छ ।

यतिका भारतीय रूपैयाँ लिएर आएका साहले विराटनगरमा सुन खरिद गर्न आएको प्रहरीलाई बताएका थिए । 

आफूले काम गर्दै आएको फारबिसगञ्जको ट्रान्सपोर्टका मालिकको छोरीको विवाहका लागि सुन खरिद गर्न आएको साहले बताएका थिए । साहले शिवानी जयसवालको विवाहको कार्ड देखाएका थिए । उनले ज्याकेटको गोजीमा ३ सय ५४ वटा भारू ५ सय दरका नोट बोकेका थिए ।

‘सटही काउन्टरसम्म आएका रहेछन्, चोर बाटो नभई मुख्य बाटोबाट आएकाले ब्यवहारिकता बुझेर छाडिएको हो’ निरीक्षक राईले भने । 

उनले विराटनगरका जनप्रतिनिधिको जिम्मा लगाएर साहलाई छाडिएको पनि जानकारी दिए । मानिस छाड्न कसैले रकम लिएको भए त्ययसको छानविन गर्ने पनि उनले बताए ।

सीमावर्ति क्षेत्रमा यसअघि सय भन्दा ठूला दरका नोट ५० हजार भारूसम्म बोकेका मानिस पक्राउ पर्दै आएका छन् । 

प्रहरीले कारवाहीका लागि पक्राउ परेका मानिसलाई राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने गरेको छ ।

भारतबाट एक सय दर भन्दा ठूला नोट भए भारू २५ हजार रूपैयाँ भन्दा बढी रकम बोकेर नेपाल प्रवेश गर्न नेपालको कानुनले बर्जित गरेको छ । 

भारतको केन्द्रीय रिजर्भ बैंकले पनि नेपाल भारत आवतजावत गर्दा एक सय भन्दा ठूला नोट २५ हजार रूपैंयाँसम्म मात्रै बोक्न पाउने नियम राखेको छ । 

पक्राउ परेर छुटेका साह भारतमा भन्दा महँगो रहेको सुनको गहना खरिद गर्न नेपाल आएका थिए । 

भारत सरकारले सुन आयातमा १५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा महशुल कायम गरेकाले भारतमा सुनचाँदी सस्तो छ । 

नेपालमा भने सुनको आयातमा १५ प्रतिशतबाट बढाएर २० प्रतिशत महशुल कायम गरिएको छ ।

View : 256

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved