विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बुधबार प्रदेशसभाबाट दोस्रोपटक सहजै विश्वासको मत प्राप्त गरेका छन् । संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेश सभामा विश्वासको मतका लागि मुख्यमन्त्री कार्कीले राखेको प्रस्तावको पक्षमा ६६ मत परेको हो ।
सभामुख अम्बर बहादुर बिष्टले उक्त मत प्रदेश सभाको तत्काल कायम रहेको प्रदेश सभा सदस्यको सङ्ख्या ९३ मध्ये बैठकमा उपस्थित रहेका ८३ को बहुमत भएकोले मुख्यमन्त्री कार्कीले विश्वासको मत प्राप्त गरेको घोषणा गरे । पक्षमा नेकपा एमालेका ३९ र नेपाली काङ्ग्रेसका २७ जनाले मतदान गरे । विश्वासको मत प्राप्त गर्नका लागि प्रदेश सभाको बहुमत सङ्ख्या ४७ नै काफी हुन्थ्यो ।
प्रस्तावको विपक्षमा नेकपा माओवादी केन्द्रका ११ र राप्रपाका ४ जनाले मत दिए । नेकपा एकीकृत समाजवादीले भने विश्वासको मतको मत विभाजन प्रक्रियामै सहभागी भएन ।
त्यस्तै सत्ता पक्षमा रहने घोषणा गरेकी अशोक राई नेतृत्वको जसपाकी एक्ली सांसद निर्मला लिम्बू भने बैठकमै अनुपस्थित भइन् ।
काङ्ग्रेसको साथ पाएका मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट दोस्रो पटक विश्वासको मत प्राप्त गरेका हुन् ।
संविधानको धारा १६८ को उपधारा (५) अनुसार गत बैशाख २७ मा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । उनले बैशाख ३१ मा पहिलो विश्वासको मत लिएका थिए । त्यसबेलाको सहयात्री नेकपा माओवादी केन्द्रले भदौ १४ मा समर्थन फिर्ता लिएपछि त्यसको ३० दिनभित्रै कार्कीले बुधबार फेरी विश्वासको मत प्राप्त गरेका हुन् ।
सत्ता पक्षको नेकपा एमाले, नेपाली काङ्ग्रेस र जसपाबाट मुख्यमन्त्री कार्कीले ७० मत प्राप्त गर्नुपर्ने थियो । तर बैठकमा एमालेकी सांसद यसोदा कायस्थ, काङ्ग्रेसका भीम पराजुली र सचेतक शोभा चेम्जोङ अनुपस्थित थिए ।
विपक्षमा रहेको १८ मत मध्ये माओवादी केन्द्रका सांसदहरू बाबुराम गौतम र जीवन आचार्य र राप्रपाका प्रेमराज थामसुहाङ पनि अनुपस्थित रहेका थिए । तटस्थ बसेको नेकपा एसका सांसदहरू खिनु लङ्वा लिम्बू र कमल प्रसाद जबेगु समेत बैठकमा उपस्थित थिएनन् ।
View : 88
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved