Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

मानगढ खानेपानी आयोजनाको १८ औं साधारणसभा सम्पन्न

उद्‌घोष संवाददाता
११ माघ २०८२, आइतवार

विराटनगर । विराटनगरस्थित मानगढ खानेपानी आयोजनाको १८ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मानगढ खानेपानी आयोजनाको आफ्नै कार्यालय परिसरमा साधारण सभा सम्पन्न भएको हो ।

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले साधारण सभाको उद्घाटन गर्दै आयोजनालाई अझ प्रविधिमैत्री बनाउन आग्रह गरे ।

उनले विराटनगरको शहरी क्षेत्रलाई गुणस्तरीय पिउने पानी वितरण गरिरहेको आयोजनाले पानीको मागलाई सम्बोधन गर्न आगामी दिनमा जार वा बोतलमा पानीसमेत उत्पादन गरेर सहुलियत दरमा बिक्री गर्न सुझाव दिए । त्यसबाट प्राप्त हुने आम्दानीबाट समेत संस्थालाई अघि बढाउन सकिनेतर्फ उनले कार्यसमितिको ध्यानाकर्षण गराए ।

बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगरले समेत अब मानगढ खानेपानीले अझ व्यवसायिक सक्षमता बृद्धि गर्दै जानुपर्ने सुझाव दिए । उनले गुणस्तरीय पानी उत्पादन क्षमता बृद्धि गर्दै उपभोक्तालाई वितरण भइरहेको बाहेकको पानीलाई सस्तो दरमा बिक्री गर्न गाउँपालिकाले समेत आवश्यक सहयोग गर्ने बताए ।

संघीय खानेपानी तथा ढल निकास कार्यालय मोरङका प्रमुख सुरतलाल चौधरीले मानगढ खानेपानी आयोजनाले अघि बढाएका कार्यक्रमलाई सहलगानीमा अघि बढाउने प्रक्रिया अघि बढिरहेको जानकारी दिए । यसै बर्षमा ३ करोड रुपैयाँको काम अघि बढ्ने उनले बताए ।

संस्थाका अध्यक्ष लालमणि भट्टराईको अध्यक्षतामा आयोजित साधारणसभामा खानेपानी संस्थालाई विराटनगर–४ मा निःशुल्क जग्गा उपलब्ध गराउने श्रीप्रसाद गौतमसहित हरिप्रसाद निरौला, पदमप्रसाद आचार्य, महाप्रसाद भट्टराई, युवराज खतिवडा, द्वारिकाप्रसाद दाहाल, तारिणी न्यौपाने र विराटनगर–३ का वडाध्यक्ष बासुबहादुर बस्नेतलाई सम्मानित गरिएको छ ।

त्यस्तै संस्थामा निरन्तरको कार्यसम्पादनका आधारमा अध्यक्ष भट्टराईले कर्मचारीहरू हरि भट्टराई, श्यामसुन्दर यादव र मञ्जु आचार्य ढुंगानालाई नगदसहित सम्मानित गरेका छन् ।

साधारणसभाले विधान संशोधन, आगामी रणनीतिक नीति तथा योजना, बार्षिक बजेटसहितको अध्यक्ष भट्टराई, कोषाध्यक्ष सरोज घिमिरेको आर्थिक प्रतिवेदन र लेखा समितिद्वारा प्रस्तुत प्रतिवेदनलाई प्रतिनिधिको सुझावसहित पारित गरेको छ ।

कार्यक्रममा आयोजना क्षेत्रभित्र पर्ने विराटनगर महानगरपालिका र बूढीगंगा गाउँपालिकाको विभिन्न वडाका जनप्रतिनिधि, सामाजिक क्षेत्रका अगुवा लगायतको उपस्थिति थियो ।

View : 367

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved