एमाले मोरङको चियापान
विराटनगर । नेकपा एमालेका केन्द्रीय वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले मुलुकको राजनीतिक संकट टार्नका लागि एमाले–कांग्रेस सहकार्य भएको बताएका छन् । उनले सवै पार्टी मिलेर मुलुकको राजनीतिक समस्याहरू समाधान गर्नका लागि एमालेले पहल गरेको तर त्यो प्रयासका विपरित एमालेविरुद्ध चौतर्फी हमला भएपछि कांग्रेससँग सहकार्य गरिएको बताए ।
एमाले मोरङले पार्टी कार्यालय पाञ्चालीमा बुधबार विभिन्न चाडवाडहरूको अवसरमा आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले राष्ट्रकै निकासका लागि कांग्रेस एमाले मिल्नु परेको जिकिर गरे । उनले २०८४ को निर्वाचनमा एक्लाएक्लै लड्ने स्पष्ट पारे ।
‘एमालेले सबै पार्टी मिलेर मुलुकको समस्या समाधान गर्नुपर्छ भनेको थियो, तर त्यसमा अविश्वास उत्पन्न गराउन खोजेपछि मुलुकको संकटलाई टार्न कांग्रेससँग सहकार्य गर्यौं’ पोखरेलले भने, ‘यो सहकार्य हुनु भनेको एमाले कांग्रेसजस्तो र कांग्रेस पनि एमालेजस्तो भएको होइन, हामी ०८४ मा एक्लाएक्लै लड्छौं ।’
उनले कांग्रेस एमाले मिलेको पनि अहिले देशभित्र र बाहिरका कतिपय शक्तिहरूलाई चित्त नबुझेको बताए । उनले एमाले जहिले पनि चुनौतिका सामु उभिएको बताए । उनले एमालेलाई कमजोर बनाउनका लागि असफल प्रयासहरू हुने गरेको बताए ।
‘चारैतिरबाट एमालेबिरुद्ध हमला छ, हामीले सरकारको नेतृत्व गरेको देखिनसहनेहरू धेरै छन्, एमाले देशभित्र र बाहिरका बैरीसँग जुधेरै यहाँसम्म आइपुगेको हो’ उनले भने, ‘एमालेले गल्ती गर्दैन, गल्ति भइहालेमा पनि सच्याउन तयार रहन्छ ।’
एमालेले सहकारीको रकम अपचलन प्रकरणमा सत्ताधारी दलहरूकै व्यक्तिहरूलाई समेत जेलमा पठाएको जिकिर गरे ।
उनले सहकारी प्रकरणमा दोषीहरूमाथि कारवाही हुनुपर्ने र छानबिनपछि निर्दोषहरूले सफाई पनि पाउने बताए ।
बरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले पार्टी निकट व्यवसायी मीनबहादुर गुरुङबाट दानमा पाएको जग्गा कानुन अनुसार नै प्राप्त गरेको दाबी गरे ।
सवै पार्टीहरू दान र चन्दाबाट चल्ने भन्दै एमालेले पार्टी निकटकै व्यक्तिबाट जग्गा प्राप्त गरी पार्टी कार्यालय बनाउन लागेको प्रष्टिकरण दिए । पोखरेलले गुरुङलाई ‘दानी व्यक्ति’ को संज्ञा दिए । गुरुङले विभिन्न राजनीतिक दल र त्यसका नेताहरूदेखि सामाजिक क्षेत्रमा करोडौं रकम दान दिएको पनि नेता पोखरेलले बताए ।
एमाले मोरङले आयोजना गरेको यस पटकको १७ औं चियापान कार्यक्रममा एमालेका नेता कार्यकर्ता, अन्य राजनीतिक दलका नेता कार्यकर्ता, सामाजिक क्षेत्रका आमन्त्रित व्यक्तित्वहरू लगायतले उपस्थित भएर शुभकामना आदान प्रदान गरेको एमाले मोरङ संगठन कमिटीका सचिव रविन थापाले जानकारी थिए ।
चियापान कार्यक्रममा लोकप्रिय लोकगायिका अन्जु गौतमले गीत गाएर मनोञ्जन प्रदान गरेकी थिइन् ।
एमाले मोरङ संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा एमाले केन्द्रीय उपाध्यक्ष गुरु बराल, स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राई, केन्द्रीय सदस्यहरू जीवन घिमिरे, राम राना, रामलाल साह, युवराज बाँस्कोटा, मोती दुगड, कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडालगायत पार्टी नेताहरूको उपस्थिति थियो ।
तर यसपटक भने एमाले मोरङको चियापानमा विगतको झैं सहभागिता देखिएन । चियापानमा भरिभराउ देखिने पाञ्चाली परिसरमा राखिएका धेरै कुर्सीहरू खाली देखिएका थिए ।
View : 89
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved