सुन्दरहरैंचा । शिवशक्ति बाबाका नामले परिचित लेटाङ–९ जाँतेका सुजनकुमार पूर्वछाने मगरलाई जगद्गुरू सम्मान प्रदान गरिएको छ । लेटाङ–९ जाँतेस्थित शिवशक्ति बाबाको आश्रममा आयोजित भव्य समारोहबीच उनलाई औपचारिक रूपमा जगद्गुरू घोषणा गरिएको हो ।
तान्त्रिक विद्या प्रयोग गरी विभिन्न रोगको उपचार गरेर चर्चामा आएका शिवशक्ति बाबालाई सनातन धर्म सम्मान समारोह, नरेन्द्र मोदी विचार मञ्च (भारत), अन्तर्राष्ट्रिय सन्त वैदिक मञ्च, इन्डो–नेपाल रिलेसन एन्ड पिस फाउन्डेसन, विश्व वैदिक गुरुकुल फाउन्डेसन र माँ नर्मदा देवी कलश यात्रा (१०८ देश) का संयोजक संस्थाहरूले संयुक्त रूपमा महामण्डलेश्वर र जगद्गुरुको उपाधि प्रदान गरेका हुन् ।
कार्यक्रममा धार्मिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै उनलाई सम्मान गरिएको आयोजकले बताएका छन् ।
यसअघि सुनसरीको रामधुनीमा आयोजित कार्यक्रममा नै शिवशक्ति बाबालाई जगदगुरु घोषणा गरिएकोमा यहाँ आयोजित कार्यक्रमका बीच जगद्गुरुको रूपमा पदस्थापन गरिएको हो ।
सनातन धर्मका १४ सनातनी अखडाबाट आएका बालकानन्द गिरी तथा लल्ली महाराजको विशेष उपस्थितिमा शिवशक्ति बाबालाई जगतगुरुको रुपमा पदस्थापन गरिएको थियो ।
कोशी प्रदेश सांसद खड्गबहादुर बस्नेत, लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौला, चर्चित झाँक्री प्रकाश भुजेल लगायतका धार्मिक व्यक्तित्व, साधुसन्त तथा जनप्रतिनिधिहरुको उपस्थितिमा शिवशक्ति बाबालाई जगतगुरुको रुपमा पदस्थापन गराइएको थियो ।
जन्मसिद्ध दैविक शक्ति प्राप्त भएको आधारमा सात महिनासम्म अध्ययन गरेर शिवशक्ति बाबालाई जगतगुरुको उपाधि प्रदान गरिएको कार्यक्रम मार्गदर्शक युवराज आचार्यले जानकारी दिए ।
उनले शिवशक्ति बाबा दैवी शक्तिको आधारमा जगदगुरु घोषणा हुने पहिलो व्यक्ति भएको बताए ।
View : 447
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved