Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

महिलामाथि हिंसा बढ्दो : दैनिक ७ बलात्कार, २१ हजार बढी घटना दर्ता

उद्‌घोष संवाददाता
३० चैत २०८२, सोमवार

विराटनगर । देशभर महिला तथा बालिकामाथि हुने हिंसा तथा जघन्य अपराधका घटना चिन्ताजनक रूपमा बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ । सरोकारवाला निकायका अनुसार यसरी हुने हिंसाको अवस्था भयावह बन्दै गएको र नियन्त्रणका लागि प्रभावकारी पहल अपरिहार्य रहेको औल्याइएको छ । 

किसोरी तथा महिलामाथि हुने हिंसाको वर्तमान अवस्था र मिडियाको भूमिकाबारे विराटनगरमा सोमबार आयोजित अन्तरक्रियामा आर्थिक वर्ष २०८१–८२ मा दुई हजार २५३ वटा जबर्जस्ती करणीका घटना दर्ता भएका मध्ये दैनिक औसत ७ वटा बलात्कारका घटना हुने गरेको उल्लेख गरिएको छ । 

यौन हिंसामा संलग्नमध्ये २५ प्रतिशत पीडक १९ देखि २५ वर्ष उमेरभित्रका रहेका छन् ११ प्रतिशत १८ वर्ष मुनिका बालक रहेको पाइएको छ ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको समन्वय तथा तरंगिनी फाउण्डेशन र ओरेक नेपालले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रियामा महिला हिंसाका घटना न्यूनीकरणमा राज्य र सञ्चार क्षेत्र दुवैको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरिएको छ । 

कार्यक्रममा पछिल्लो तीन महिनामा सम्पर्कमा आएका १२७ पीडितमध्ये ४६ प्रतिशत आधारभूत शिक्षा लिएका, १३ प्रतिशत निरक्षर, ३४ प्रतिशत माध्यमिक र ४ प्रतिशत स्नातक वा सोभन्दा माथि शिक्षित रहेको पनि उल्लेख गरिएको थियो । 

ओरेककी कार्यकारी निर्देशक सुनीता मैनालीले कोशी प्रदेशमा महिला तथा किसोरीमाथि हुने हिंसाका तथ्यांक प्रस्तुत गर्दै कम शिक्षित महिलामाथि अझै बढी हिंसा हुने गरेको दाबी गरिन् ।

तरंगिनी फाउण्डेशनकी कार्यक्रम अधिकृत रुमा रिजालले हिंसाका विरुद्धमा सुनसरी, मोरङ र उदयपुरका विभिन्न स्थानीय तहमा सचेतना, पैरवी र पुनःस्थापनाका कार्यक्रम सञ्चालन भइरहेको बताइन् । 

उनले महिलाको नेतृत्व विकास र श्रमिक अधिकारको संरक्षणमा समेत विभिन्न क्षेत्रका सरोकारवालाबीच सहकार्य हुँदै आएको बताइन् ।

नेपाल प्रहरी अनुसार आर्थिक वर्ष २०८१-०८२ मा देशभर कुल २१ हजार ६६७ हिंसाका घटना दर्ता भएका छन् । तीमध्ये १७ हजार ४८२ घरेलु हिंसासम्बन्धी उजुरी छन् । 

घरेलु हिंसाकै कारण ३८ जनाको हत्या भएको र १४ वटा मात्र मुद्दा दर्ता भएका कारण महिलाको कानुनी प्रक्रियामाथि पहुँचबारे गम्भीर प्रश्न उठेको जनाइएको छ ।

पछिल्लो समय विभिन्न जिल्लामा भएका महिलामाथि भएका क्रूर हिंसात्मक घटनाको स्वरूप झनै भयावह बनेको जनाइएको छ । 

पर्सामा श्रीमानले श्रीमतीमाथि धारिलो हतियार प्रहार गरी अंगभंग गरेको, सुर्खेतमा १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या, मोरङमा १३ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या, संखुवासभामा १० वर्षीया बालिकामाथि बलात्कार, कञ्चनपुरमा सामूहिक बलात्कार तथा कैलालीमा श्रीमानद्वारा श्रीमतीको हत्या जस्ता घटनाले समाजलाई स्तब्ध बनाएको सरोकारवालाहरूले बताए ।

नेपालमा २६१ वटा महिला, बालबालिका तथा ज्येष्ठ सेवा केन्द्र सञ्चालनमा रहेका छन् । सरकारको यस प्रयासका वावजुद पनि हिंसा नियन्त्रणमा अपेक्षित सुधार हुन नसकेको जनाइएको छ ।

हिंसा न्यूनीकरणका लागि कानुनको कडाइका साथ कार्यान्वयन, पीडितमैत्री सेवा विस्तार, युवामुखी व्यवहार परिवर्तन कार्यक्रम, सामाजिक सोच परिवर्तन अभियान तथा हिंसाका जरो कारण पहिचान गरी समाधानमुखी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशीका उपाध्यक्ष कुमोद अधिकारीले हिंसाको स्वरुप परिवर्तन भइरहेकाले त्यसअनुसार राज्यले प्रभावकारी नीति अवलम्बन गर्नुपर्ने सुझाव दिएका थिए ।

View : 165

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved