Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

भीम पराजुलीको गुनासो- 'महानगरमा सुरु गरेका पुराना योजना बिफल पार्ने प्रयास गरियो'

उद्घोष सम्वाददाता
१२ पुष २०८०, बिहिवार

विराटनगर, १२ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले विराटनगर महानगरपालिकाले यसअघि लगानी भइसकेका योजना बिफल पार्ने प्रयास गरेको आरोप लगाएका छन् । त्यसले महानगरलाई ठूलो क्षति हुने भन्दै सचेत गराएका छन् ।

आफू विराटनगरको मेयर भएका बेला ल्याइएका योजना भत्काउने र बिफल बनाउने प्रयास भइरहेका प्रदेश सांसदसमेत रहेका पराजुलीको भनाइ छ ।

बिहीबार बिहान पत्रकारहरुसँग कुरा गर्दै उनले पुराना योजना हालका मेयरले सफल हुनबाट रोक लगाउन लागेको बताए । हिमालय रोड सौन्दर्यीकरणमा महानगरको एक करोड ६३ हजार लगानी भइसकेको अवस्थामा त्यसलाई भत्काउन लागिएको भन्दै पराजुलीले आपत्ति जनाए  ।

भारतको चर्चित एमजी रोड जस्तै बनाउने योजनासहित आफू मेयर हुँंदा स्थानीय, व्यवसायी, सरोकारवालाको सहमतिमा काम गरिएको भए पनि हाल स्थानीयलाई उचालेर बनावटी विरोध तयार गरिएको पराजुलीको आरोप छ ।

उनले प्रायोजित व्यक्तिहरु प्रयोग गरेर सडकमा बनेको संरचनाको विरोध गर्न लगाइएको दाबी गरे । योजना अनुसारको काम पूरा नगरी सम्पन्न हुने अवस्थामा भत्काउने योजना बन्दै गरेको उनले बताए । 

योजना अनुसार सौन्दर्यीकरणका काम हुन आफैं बाँकी छ । ‘हिमालय रोडमा बनेका संरचना भत्काउन लागिएको मैले सुनेको छु । मैले बनाएका सभागृह, वडा कार्यालय, बसपार्क पनि भत्काउने ? अरु के के भत्काउने ?’ पराजुलीले प्रश्न गरे ।

उनले एक मेयरले बनाउने र अर्को मेयरले भत्काउने प्रवृत्ति हुनु नहुने बताउँदै त्यसले विकासलाई थप असर गर्ने उल्लेख गरे । विराटनगरलाई सुन्दर बनाउन आफूले गरेको मेहनतलाई यहाँका बासिन्दाले सम्मान गरेको उनी बताउँछन् । 

पार्टीको केन्द्रीय सदस्य र प्रदेशसभामा निर्वाचित भएपछि महानगरको मात्रै नभई प्रदेश र देशकै विकासका योजना बनाएर हिंडेको पराजुलीले बताए । महानगरको मेयर हुँदा पाएको पारिश्रमिक पनि सामाजिक कार्यमा प्रयोग गरेको उनको भनाइ छ ।

आफू कोशी प्रदेशका समस्याहरु प्रदेशसभामा र गठबन्धनको सरकारमा राख्ने र संघीय सरकारको विषयमा पार्टी केन्द्रीय समितिमा राखेर सुधारको प्रयास गर्ने ठाउँमा रहेको उनले सुझाव पनि मागेका छन् । 

हुलाकी राजमार्ग, विराटनगर चक्रपथ, रेलमार्ग जस्ता ठुला योजनामा देखिएका समस्याको समाधानको पहल गर्न आफूले पार्टीको केन्द्रीय समितिदेखि संघीय र प्रदेश सरकारका प्रतिनिधिसम्मलाई घचघच्याउने नेता पराजुली बताउँछन् ।

मोरङको कटहरीमा रेलको प्लेटफार्म बनाउने विषयमा देखिएको जग्गा विवादले रेल आउन ढिलाइ भएको जानकारी दिंदै जग्गाको मुआब्जा लिन तयार भएर सहमति जनाउनेहरु अहिले विरोधमा उत्रिएको उनको कथन छ । 

प्रदेश सरकारलाई व्यवस्थित गराएर दिगो विकासको योजनामा केन्द्रित रहन सुझाव दिंदै पराजुलीले वर्तमान गठबन्धनको सरकार कमजोर भए मध्यावधिमा जाने र देश भुमरीमा पर्ने बताए । मध्यावधिमा जानबाट रोक्न दलहरु बीच एकता हुनु पर्ने उनी बताउँछन् ।

View : 175

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved